कनकाई अनलाईन
कनकाई नगरपालिका–३, सुरुङ्गामा नवनिर्मित कनकाई नगर अस्पतालको स्वास्थ्य भवनको औपचारिक उद्घाटन गरिएको छ । करिव ६ करोडको लगानीमा निर्मित उक्त भवनको संघिय सरकारका स्वास्थ्य राज्य मन्त्री सुरेद्र यादवको वाहुलीवाट उद्घाटन गरिएको हो ।
मन्त्री स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले वर्तमान सरकारको पाँचवर्षे कार्यकालमा देशभरिका सवै स्थानीय तहमा स्वास्थ्य अस्पताल संचालन गर्ने सरकारको योजना रहेको वताउँनुभएको छ ।
झापाको सुरुङ्गामा कनकाई नगर अस्पतालको भवन उद्घाटन गर्दै स्वास्थ्य राज्य मन्त्री यादवले स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप नेपालको संविधान अनुसार सुरुङ्गामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई कनकाई नगर अस्पतालका रुपमा स्तर उन्नती गरेको वताउँनुभएको छ । स्वास्थ्य अस्पतालवाट सवै नागरिकलाई अत्याधुनिक उपकरणसहितको निःशुल्क स्वास्थ्य सेवा पुर्याउँने सरकारको नीति अनुसार आवश्यक जनशक्ति सहित कनकाई नगर अस्पतालको भौतिक संरचना निर्माणमा सरकारले बजेटको व्यवस्थापन गरेको राज्यमन्त्री यादवले वताउँनुभएको छ । कनकाई नगर लगायत आसपासका शिवसताक्षी र अर्जुनधारा नगरपालिका, झापा र बाह्रदशी गाउँपालिका लगायत क्षेत्रका बिरामीको स्वास्थ्य उपचार सेवा हुन सक्ने यस नगर अस्पतालमा थप सेवा विस्तारकालागि भवन निर्माण गर्न सरकारका तर्फवाट पुनः ९ अर्व बजेटको व्यवस्था भएको राज्यमन्त्री यादवले जानकारी दिनुभएको छ ।
नव निर्मित भवन निर्माण गर्नकालागि ५ करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ पैशामा दि कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाण्डौले कार्यादेश पाएअनुसार निर्माण कार्य सम्पन्न गरि केही दिन अघि मात्र समितिलाई भवन जिम्मा लगाएको हो । भवन निर्माण कार्य सम्पन्न भएसँगै विधिवत रुपमा उद्घाटन भएको स्वास्थ्यको भवनमा १५ शैयाको कनकाई नगर अस्पताल संचालन गरीने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले वताउँनुभएको छ ।
स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउँन लागीएको नगर प्रमुख पोखरेलले जानकारी दिनुभएको छ । भवन उद्घाटन कार्यक्रममा झापा क्षेत्र नं–४ का प्रतिनिधी सभा सदस्य एलपी साँवा लिम्वू, प्रदेश सभा सदस्य हिरा थापा, स्वास्थ्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद चिमरीया लगायतले स्वास्थ्य भवनलाई व्यवस्थित रुपले संचालन गर्न स्थानीयबासीले विशेष सक्रियता देखाउँनुपर्नेमा जोड दिएको औपचारिक कार्यक्रमको सञ्चालन संचारकर्मी मनोज बस्नेतले गरेका थिए भने स्वागत उपाध्यक्ष सुरेन्द्र प्रधानले गरेका थिए ।