Kanakai Online

नेकपा देशको आवश्यताको पार्टी पोखरेल


शनिवार, जेठ ११, २०७६ |

लीलाराज झापाली
उपप्रधान तथा रक्षामन्त्री तथा नेकपाका केन्द्रिय कार्यालय सदस्य ईश्वर पोखरेलले नेकपाको एकताले अवको भावी राष्ट्रीय आवश्यकता पुरा गर्ने बताउनुभएको छ ।
झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको झापा जिल्ला कमिटीलाई सपथ ग्रहण गराउदै नेता पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय आवश्यकताको परिणाम भएको समेत बताउनुभएको छ ।
एकताकाका लागि कार्यकर्ताको चाहना, जनताको भावना र राष्ट्रिय आवश्यकताका कारण सम्भव भएको भन्दै अव कम्तीमा जनताको चाहनाको परिपुर्तिका लागि पार्टी र सरकारले काम गर्ने बताउनुभएको छ । कम्युनिष्ट पार्टी अझैपनि भीडमा भन्दा विचारमा विश्वास राख्ने पार्टी भएकोले पार्टीको आधिकारिक विचार लाइनलाई थप व्यावस्थित र परिमार्जित गरेर पार्टी कमिटीलाई थप व्यावस्थित बनाउदै लैजाने पोखरेलले बताउनुभयो । कम्युनिष्ट पार्टीको सफलता र असफलतामा देशकै सफलता र असफलतासग जोडिने हुदा असफल हुने छुट कसैलाई नभएको नेता पोखरेलले बताउनुभयो ।
तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर बनेको सिङ्गो नेकपा पार्टीका भिन्न भिन्न स्कुलिङ्ग अवका वाकी दिनमा अनुभवका रुपमा मात्रै काम लाग्ने भन्दै अव कम्तीमा नयाँ योजना र विचारधाराबाट पार्टी पशिक्षित र परिचालित हुनुपर्नेमा नेता पोखरेलले जोड दिनुभयो । नेकपाको झापा विद्रोह र माओवादीको जनयुद्ध पार्टीका लागि नयाँ अनुभवका रुपमा मात्रै रहने भन्दै अव पार्टी कार्याकताले नयाँ पद्धतिबाट चल्न सिक्नुको विकल्प नरहेको बताउनुभयो । पार्टी एकतापछि आआफ्ना कमि कमजोरीका कारण पार्टीका आन्तरिक काम कार्वाहीमा ढिलासुस्ती हुदा ठुलो गल्ती महसुस भएकोले अवपनि यस्ताकिसमका गल्ती गर्ने छुट कसैलाई नभएको पोखरेलले बताउनुभयो । ढिला सुस्तीमा कतिपय ठुला पार्टीका आफ्नै समस्या र केहि वस्तुगत मनोवैज्ञानिक कारणले काम गरेको थियो अव यी सबै विचारहरुलाई छाडेर पार्टीले नयाँ विचारधाराका साथ काम गर्नु पर्छ पोखरेलले भन्नुभयो ।
यता मुलुकमा राजनीतिक अस्थिरताका कारण छ÷छ महिनामा सरकार परिवर्तन हुने अवस्थालाई अन्त्य गर्न र मुलुककको आवश्यकता पूरा गर्न सिङ्गो नेकपा बनेको पोखरेलले स्पष्ट पार्नुभयो । ‘कम्युनिष्टहरु फुट्न मात्र जान्छन्, जुट्न जाँदैनन् भन्ने थियो’, उहाँले भन्नुभयो, ‘हामीले कम्युनिष्ट जुट्न सक्छन र जान्छन् भन्ने सन्देश सबैलाई दिएका छौँ ।’
काली र सेती गण्डकी मिलेर नारायणी बनेझै दुई ठुला कम्युनिष्ट मिलेर नेकपा बनेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘कालो र सेतो छुट्याउने होइन, एकताको भावनाका साथ अघि बढ्नुपर्छ, एमाले र माओवादी भन्ने कुरा रहेन, नेकपा बनिसक्यो ।’
विगतका कुरालाई कोट्याएर वर्तमानलाई घाइते नबनाउन आग्रह गर्दै नेता पोखरेलले व्यक्ति नहेरी योग्यता, क्षमता र लोकप्रियताका आधारमा मातहतका कमिटी गठन गर्न सुझाव दिनुभयो ।
‘दुई धार, तीन तरेलीको कमिटी बनाउनुहोस्’, दुई धार तीन तरेली तत्पर्य खुलाउँदै नेता पोखरेलले भन्नुभयो, ‘दुई धार भनेको पार्टीमा योगदान दिने कर्तव्यनिष्ठ कार्यकर्ता र पार्टीमा आबद्ध विषयविज्ञ (कृषि, शिक्षा लगायत) हो, तीन तरेली भनेको पाका, अधवैंशे र युवा हुन्, यस्तो कमिटीले मात्र पार्टी सक्षम र सबल बन्न सक्छ ।’ उहाँले भीडमा नभई संगठनमा देखिने पार्टी बनाउन आग्रह गर्नुभयो । शृंखलाबद्ध कमिटी बनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘साङ्लोजस्तो पार्टी संगठन बनाउनुपर्छ, त्यस्तो संगठनमा ऊर्जा हुन्छ ।’
कम्युनिष्ट पार्टीमा ‘लैवरी लै हुने’ छूट नहुने बताउँदै नेता पोखरेलले पार्टीमा एउटै विशिष्ठ विचार हुने बताउनुभयो । ‘कम्युनिष्ट पार्टी एउटै चहकिलो विचारमा अघि बढ्नुपर्छ, खैँराती विचारले हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यस्तो पार्टीले मात्र देशलाई सही दिशा दिन सक्छ ।’
हार्दा सबैले हार्ने र जित्दा सबैले जित्ने भएकाले विचारमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । ‘पहिलो कुरा विचारलाई व्यवस्थापन गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अनिमात्र सोचेको गन्तव्यमा पुग्न सकिन्छ ।’
कार्यक्रममा नेता पोखरेलले नेकपा झापा अध्यक्ष चिन्तन पाठक र सचिव मणि साम्पाङ (विजय) लगायत १७७ सदस्यीय कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो । भने पार्टीका १५ स्थानीय तहका इन्चार्ज र सहइन्चार्जको समेत जिम्मेवारी वाडफाड गरिएको थियो ।