Kanakai Online

समाचार प्रभाव साधुको भोजनमा सहयोग जुट्दै


सोमवार, वैशाख २३, २०७६ |

कनकाई अनलाईन
झापा कोटीहोममा गत चैत ३० गतेदेखि कनकाई माइ किनारामा असक्त र खोला किनारामा माग्न बस्नेहरुलाई साधु छत्र गिरीले भीक्षा मागेरै दिउसो एक समय खाना खुवाइरहेको समाचार गोरखापत्र दैनिकमा प्रकाशन भएपछि भोजनका लागि सहयोग जुट्न थालेको छ ।
साधु छत्र गिरीको समाचार पढेर शनिवार मातातीर्थका दिन काठमाण्डौका प्रेम शाही श्रेष्ठले सागसब्जी , चामल , पनिर , तेल लगायातका दैनिक उपभोग्य सामान सहयोग गर्नुभएको छ ।
यसैगरि झापा कनकाई नगरपालिका ४ कोटीहोम निवासी डिल्लीराम मिश्रले चामल , तरकारी र शनिवार खाना खान आउने प्रत्येक साधु सन्त र माग्न बस्नेहरुलाई जनही १० रुपैँयाका दरले सहयोग रकम प्रदान गर्नुभएको छ । यसैगरि झापा कनकाईका सहारा नेपालका सदस्य रामबहादुर भुजेलले समेत १ बोरा चामल नुन , लगायातका खाद्यान्न सहयोग गर्नुभएको छ । साधु गिरीले आफुले मागेको भीक्षाबाट मात्रै यस क्षेत्रका साधुसन्तलाई खाना खुवाउन समस्या भइरहेको वेला समाचार पढेर सहयोग जुट्न थालेको बताउनुभयो । यसैविच साधु गिरीले खाना पकाउने स्थानमा पानी परेको वेला समस्या हुन थालेपछि स्थानीय युवा समुहले खाना पकाउने स्थानलाई टिनको छानो हालीदिएका छन । स्थानीय रामचन्द्र खरेल लगायातको समुहले साधुको खाना पकाउने स्थानमा टिन र बाँसको अस्थायी छानो हालिदिएको गिरीले बताउनुभयो ।
तस्वीर ः कनकाई माइ किनारामा खाना खादै साधु सन्त लगायात लीलाराज झापाली