Kanakai Online

भीक्षा मागेरै दैनिक ४० जनालाई भोजन


शनिवार, वैशाख २१, २०७६ |

लीलाराज झापाली
झापा कनकाई माइ कोटीहवन क्षेत्रका एक साधुले गत चैत ३० गते रामनवमीका दिनदेखि मागेरै असाहायलाई दैनिक भोजन गराइरहनुभएको छ ।
कनकाई माईको पुर्वी किनारामा मागेर गुजारा गर्ने करिव ४० जनालाई साधु छत्र गिरीले आफ्फै खाना पकाएर बाढिरहनुभएको छ ।
कोटीहवन क्षेत्रमा शनिवार र मंगलवार नदिमा भाकल पुजा गर्न आउनेहरुको दैनिक भीड लाग्ने गर्दछ । भाकल पुजा गरेर फर्कनेहरुसग नदिकिनारामा बसेरै भीख माग्नेहरुको सङ्ख्या समेत ठुलो रहेको छ । यी भीख माग्नेहरुलाई सन्त गिरीले यसरी दैनिक एक समय भोजन गराइरहनुभएको छ ।
दैनिक ११ बजेदेखि १२ बजेसम्म खोला किनारामा माग्न बस्नेहरु गिरीले पकाएको खाना खाएर पुन माग्नका लागि लाइनमा बस्ने गरेको स्थानीय साधुसन्तहरु बताउछन । यस अघि आफुले मागेरै ल्याएको चामल तथा तरकारीजम्मा गरेर आफुजस्तै अशक्तहरुलाई खाना खुवाउने काम आफुले लामो समय गर्ने चाहाना हुदापनि चामल , आवश्यक दाउरा र तरकारी नहुदा भोजन खुवाउने कामलाई निरन्तरता दिन नसकिने पिरले सताएको सन्त गिरीले बताउनुभयो । आफु विहानभर खाना पकाउनुपर्दा दिउसोमात्रै चामल माग्न जान पाउने हुदा भीक्षा संकलन पनि कम हुने गरेको गिरीले बताउनुभयो । गिरीको असक्तलाई भोजन खुवाउने कामलाई स्थानीय अटोरिक्साचालक पुण्यप्रसाद पौडेलले साथ दिइरहनुभएको गिरीले बताउनुभयो । पौडेलले दिनभर अटोरिक्सा चलाएर कमाएको पैसामध्ये तेल हालेर बचेको सबै पैसा साधु गिरीलाई दिदै आउनुभएको छ । सो पैसाबाट आवश्यक तेल र नुन खरिद गर्ने गरिएको गिरीले बताउनुभयो ।
गिरीले दिउसो खाना खुवाउन थालेयता दिनमा एकपटक भएपनि भरपेट खाना खान पाउन थालेको लामो समयदेखि कनकाई नदिकिनारामा मागेरै गुजारा चलाउदै आउनुभएकी पावर्ता थापाले बताउनुभयो । इलाम शान्तिपुर निवासी ५५ बर्षिय साधु गिरी विगत ११ बर्षदेखि कनकाई माइ किनारामा कुटी बनाएरै बस्दै आउनुभएको छ । कनकाई माइ किनारामा माग्नका लागि टाडा टाडाबाट साधु र असक्तहरु आउने गरेको र उनीहरुको खाने बस्नेको टुङ्गो पनि नहुने देखेर कम्तीमा आफुजस्ता सहारा विहिनलाई थोरै भएपनि मद्धत गर्न आफु खाना पकाएर बाढ्न थोलेको गिरीले बताउनुभयो । आफुसग खाना वाढ्ने थाल र गिलास समेतको कमि हुदा खाना बाढ्दा पनि पालो कुराउनुपरेको गिरीले बताउनुभयो ।
तस्बीर ः मागेरै आफुजस्ता साधु र बेसाहारालाई भोजन गराउदै साधु छत्र गिरी लीलाराज झापाली