कनकाई अनलाईन
नेपाल पुलिस क्लब मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा सीएमसी संकटालाई टाइब्रेकरमा ४–३ को गोल अन्तरले हराउँदै फाइनलको स्थान पक्का गरेको हो । यो जितसँगै प्रहरीले नगद ५ लाख १ हजार सुनिश्चित गरेको छ । यो प्रतियोगितामा प्रहरीले पहिलो पटक फाइनलको यात्रा तय गर्ने अवसर पाएको हो ।
फाइनलको यात्रा तय गर्न टाइब्रेकरमा प्रहरीका तर्फबाट अजित भण्डारी, भरत शाह, तिर्थबहादुर राना, हरि कठायतले गोल गर्नुभयो । प्रहरीकै सुमन लामाको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले बचाउनुभयो ।
यता संकटाका अमित तामाङ, टम्पि इर्नेस्ट, दिपेश आले मगरले गोल गर्नुभयो । संकटाका रोमन लिम्बू र लक्ष्मण रुचालको प्रहारलाई प्रहरीका गोलरक्षक रोशन खड्काले ं बचाउ गरेपछि संकटाको फाइनल पुग्ने यात्रा अधुरै रहन पुग्यो ।
९० मिनेटको निर्धारित समयभित्र १÷१ को बराबरी भएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पुलिस भाग्यमानी बन्दै फाइनलमा पुग्ने सुनौलो अवसर पाएको हो ।
खेलको दोस्रो हाफको २७ औँ मिनेटमा नेपाल पुलिस क्लबका मानबहादुर परियारले सुरुवाती अग्रता दिलाउनु भयो । मानबहादुरले हेड गरेको बल गोलरक्षक राजाबाबु थापाबाट रिबाउण्ड भएपछि पुन परियारले सदुपयोग गर्दै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
एक गोलले अग्रता भएको प्रहरीले खेललाई अन्तिम ५ मिनेटको समयमा सम्हालिन नसक्दा टाइब्रेकरबाट जित निकाल्ुन परेको थियो । खेल दोस्रो हाफको ४२ औँ मिनेटमा संकटाका विदेशी खेलाडी फोफोना फोडेले हेडरबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । संकटाले बारम्बार गरेको काउण्टर एटेक बललाई हेड मार्फत फोडेले जाली चुमाएका थिए ।
खेलको ५ औँ मिनेटमा संकटाका सुबास गुरुङले पाएको पहिलो अवसर गोलपोष्ट नजिकबाट बाहिरियो । १७ औँ मिनेटमा विदेशी खेलाडी इकेने क्रिशियनको बाइसाइकल किक पोष्ट माथिबाट बाहिरियो । ४१ औँ मिनेटमा फोफोना फोडेको हेडर गोलरक्षक शत्रुधन चौधरीको हातबाट फुत्एिको बललाई क्रिसियनले सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफको १९ औँ मिनेटमा संकटाले पाएको फ्रिकिक सदुपयोग हुन सकेन ।
पहिलो हाफको २० औँ मिनेटमा संकटाका गोलरक्षक राजाबाबु थापाको हातबाट फुत्किएको बललाई नेपाल प्रहरीका सुमन लामा सदुपयोग गर्न सकेनन् । २१ औँ मिनेट प्रहरीका रवि पासवानको क्रस रेजिन सुब्बाले भेटन नसक्दा अग्रता बनाउने मौका गुमायो । २५ औँ मिनेटमा रेजिनको प्रहार संकटाका गोलरक्षकले मुस्किलले बचाए । दोस्रो हाफको १४ औँ मिनेटमा रविको प्रहार संकटाका गोलरक्षक राजाबाबुले पञ्च गरेर बाहिर पठाइदिए ।
बिहिवारको अन्तिम सेमीफाइलनल खेलमा डिफेन्डिङ च्याम्पियन विभागिय टिम त्रिभूवन आर्मी र रुस्लान थ्रीस्टारबिच प्रतिस्पर्धा हुुदैँछ ।
२१ गते हुने फाइनल खेलमा विजेता टिमले नगद १० लाख १ हजार रुपैँया र उपविजेता टिमले नगद ५ लाख १ हजार रुपैयाँ पाउने आयोजक क्लबका अध्यक्ष मिन बस्नेतले बताउनुभयो ।