Kanakai Online

कनकाईमा छठ पर्वको होली मनाइयो


बुधवार, चैत ६, २०७५ |

कनकाई अनलाईन
सुरुङ्गा  चाडपर्वहरु विकृतिका रुपमा नभएर संस्कृति र संस्कार निर्माण गर्ने पर्वका रुपमा मनाउँनु पर्ने भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले होली पर्वलाई सम्पूर्ण नेपालीहरुको साझा पर्वका रुपमा मनाउँनु पर्ने वताएका छन् ।
कनकाई उद्योग वाणिज्य संघको सभा हलमा कनकाई छठ सेवा समाजले आयोजना गरेको एक विशेष होली मिलन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नगर प्रमुख पोखरेलले आँफूभित्र रहेका नराम्रा भावना र विचारलाई त्यागेर होली मिलन कार्यक्रमले सवै जातजातीहरुमा एकता र सद्भाव कायम गर्न सफल बनोस् भन्ने शुभकामना दिएका छन् ।
कार्यक्रमका विशिष्ट अतिथी झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले कार्यक्रमको आयोजक संस्था कनकाई छठसेवा समाजले समाजमा रहेका सवै जातजातीहरुलाई एकै स्थानमा राखेर भव्य रुपमा सम्पन्न गरेको होली मिलन कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको वताएका छन् । चाडपर्व मनाउँने क्रममा खर्चिलो र तडक भडक नगरीकन आ–आफ्नो संस्कृतिको संरक्षणका लागि सवैले सहज वनाएर अघि बढ्नु पर्ने तर्फ झापा गाउँपालिकाका अध्यक्ष शाहले जोड दिएका छन् ।
सामाजिक क्षेत्रमा विभिन्न गतिविधी गर्दै आएको कनकाई छठ सेवा समाजको एकताका कारण यस क्षेत्रका अन्य संघ संस्था साथै अग्रज व्यक्तित्वहरुसँगको सहकार्यमा छोटो समयमा समाजले पाँच कठ्ठा जमीन खरीद गरी सकेकोले अव चाँडै सूर्य भगवानको मन्दिर स्थापना गरी सुविधा सम्पन्न एक सामुदायिक भवन निर्माण गर्ने योजनालाई समेत अघि बढाएको समाजका संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले वताएका छन् ।
स्वास्थ्यकर्मी समेत रहेका समाजका अध्यक्ष सामाजिक व्यक्तित्व सुरेन्द्र प्रधानको सभापतित्व रहेको कार्यक्रममा यस क्षेत्रका विभिन्न संघ संस्था साथै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले एकआपसमा रातो रङ्को टिका लगाएर सद्भाव प्रकट गरेका थिए । कार्यक्रमका संयोजक समाजका पूर्व सचिव शम्भु शाहले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा समाजका उपाध्यक्ष विजयकुमार शर्माले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, नौवटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य साथै परिषद सदस्यहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महासचिव राजकुमार शाहले संचालन गरेको कार्यक्रममा कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, नेपाली कांग्रेसका नेता देउकुमार थेवे , भगीरथ पोद्धार साथै शिवसतासीका नगर सभापति परशुराम ढुङ्गाना, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, राप्रपा कनकाई नगरका अध्यक्ष ज्योतीकुमार उप्रेती, समाजका वरिष्ठ सल्लाहकार जगतनारायण मण्डल लगायतले शुभकामना मन्तव्य राखेको समाजका पूर्व अध्यक्ष चन्दन शाहले वताएका छन् ।
 

सम्बन्धित खबर