Kanakai Online

महासंघको तालाबन्दीप्रति प्रेस सेन्टरको आपत्ति


बुधवार, फागुन १५, २०७५ |

कनकाई अनलाईन
सुरुङ्गा । गत माघ २९ गते प्रेस प्रेस चौतारी नेपाल र आदिवाशी जनजाति पत्रकार महासंघ फोनिजले पत्रकार सुद्धिकरणको विरोध गर्दै गरेको तालाबन्दी तत्काल खोल्न प्रेस सेन्टर झापाले दुबै सङ्गठनलाई आग्रह गरेको छ ।
प्रेस सेन्टर झापाका अध्यक्ष टिकाराम उप्रेती र सचिव लीलाराज झापालीले विज्ञप्ति जारी गर्दै महासंघ झापामा लगाएको तालाबन्दिप्रति आपत्ति प्रकट गर्दै ताला अविलम्ब खोल्न आग्रह गरेको हो । प्रेस सेन्टर झापाको बुधवार सुरुङ्गामा बसेको बैठकपछि संगठनले चौतारी र फोनिजले पत्रकार महासंघले गरेको सङ्गठन सुद्धिकरणजस्तो अतिलोकप्रिय कार्यक्रमको विरोध गरेर समग्र पत्रकारिता जगतकै खिल्ली उठाएको समेत निर्णय गरेको छ । तालाबन्दी पत्रकार आचारसंहिता , नेपाल पत्रकार महासंघको विधान , महासंघ केन्द्रिय समितिको धुलिखेल बैठक , प्रदेश समितिको बैठक , महासंघको पुस ४ र ५ गते बिराटनगरमा भएको राष्ट्रिय सम्मेलन र महासंघ झापा शाखाको निर्णय विरुद्ध ग्रैह पत्रकारलाई प्रश्रय दिने नियतले गरिएको प्रेस सेन्टर झापाको ठहर छ ।
विज्ञप्तिमा पत्रकार महासंघ झापाले पत्रकार आचार संहिता कार्यान्वयन र सदस्यता शुद्धिकरणका लागि गरेको निर्णयबाट पछि नहट्न अनुरोध गर्दै महासंघको यस कार्यप्रति समर्थन समेत गरेको छ । विधान तथा सदस्यता नविकरण निर्देशिका अनुसार पत्रकारितामा क्रियाशील भएको प्रमाण पेश गर्नुपर्ने प्रावधान विपरित कसैको तालाबन्दीको दवावमा परेर सदस्यता नविकरण गरे प्रेस सेन्टर शसक्क्त आन्दोलनमा उत्रने समेत बताएको छ । विज्ञप्तिमा प्रेस सेन्टर र प्रेस चौतारी नेपालविच सांगठानिक एकता भइ प्रेस संगठन नेपाल समेत गठन भइसकेको अवस्थामा केन्द्रिय निर्देशन बिपरित प्रेस चौतारी झापाले कहिले प्रेस सेन्टरका सदस्यलाई चौतारीमा पार्टी प्रवेश गराउने जस्तो लाजमर्दो क्रियाकलाप गरेर जगत हसाउने त कहिले एक्लै महासंघको कार्यालयामा ताला लगाउने काम गरिरहेको भन्दै यस्ता क्रियाकलापमा संगठनको निर्णय विपरित भएको जनाएको छ ।
पत्रकार महासंघ झापाले सदस्यता शुद्धिकरणको काम थालेसगै पत्रकार महासंघको साधरणसभाको केहि दिन पहिले महासंघका तालाबन्दी भएपछि पत्रकार महासंघको अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।