कनकाई अनलाईन ।
झापाको कनकाई नगरपालिका ३ , सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा आगामी फागुन १८ गते शनिवार देखि २४ गते शुक्रवार सम्म चौथो जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
कनकाई नगरपालिकाको आर्थिक सहयोगमा हुन गइरहेको प्रतियोगिताको आयोजना कनकाई खेलकुद प्रतिष्ठान कासाले गरेको हो । प्रतियोगिता ३ बर्षदेखि नियमित हुदै आइरहेको छ ।
यस बर्ष हुन लागेको प्रतियोगितमा पुरस्कारको राशी समेत बृद्धि गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरि जनाएको छ । आयोजक समितिका सदस्य विनोद रानामगरको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद ६० हजार र आकर्षक ट्रफि पाउने छ । यसैगरि दोस्रो हुने टिमले नगद ४० हजार र ट्रफि पाउने छ । विधागत खेलाडीले समेत पुरस्कार पाउनेछन भने प्रतियोगिताको सर्बोकृत हुने एक महिला खेलाडीले नगद ५ हजार समेत पाउनेछिन । यस पुरस्कारको प्रायोजन खेल संयोजक अम्बिका खरेलले गर्नुभएको हो । प्रतियोगितामा झापाका विभिन्न पालिकाका ८ टिमको सहभागिता रहने आयोजक समितिका उपाध्यक्ष झलक सिटौलाले बताउनुभयो जसमा आयोजक कनकाई सहित , विर्तामोड , झापा गाउँपालिका , दमक , हल्दिवारी , पारिजात महिला फुटबल क्लव , अर्जुनधारा र शिवसताक्षी नगरपालिकाको महिला फुटबल क्लव रहेका छन ।
प्रतियोगिताको उद्घाटन यस क्षेत्रका प्रदेश सांसद हिरा थापाले र समापन उद्घाटन र शील्ड बितरण संघिय सांसद एलपि साँबा लिम्बुले गर्ने आयोजक समितिका विनोद रानामगरले बताउनुभयो । प्रतियोगिताका लागि करिव ३ लाख रुपैँया लाग्ने र खर्चको जोहो कनकाई नगरपालिका र दाताबाट संकलन गरिने आयोजक समितिका सचिव दिनानाथ खतिवडाले बताउनुभयो । पत्रकार सम्मेलनमा यस क्षेत्रका अगुवा नेता श्यामसुन्दर ओली , ओम पाठक , रविन्द्र लम्साल लगायातको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व कनकाई खेलकुद प्रतिष्ठानका कार्यवाहक अध्यक्ष राजेन्द्रकुमार उप्रतीले गर्नुभएको थियो ।
प्रतियोगिता सम्पन्न गर्न अम्बिका खरेलको संयोजनमा ९ सदस्यीय मुल समिति गठन गरिएको छ जसमा सदस्यहरुमा सरु श्रेष्ठ , ऋषि राई , अर्जुन गिरी , झलक सिटौला , तुलसी बिमली , विनोद रानामगर , विश्वविजय खरेल र नविन बास्तोला रहेका छन भने प्रचारका लागि झलक सिटौलाको संयोकत्वमा र अर्थ संकलनका लागि बिनोद रानामगरको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ ।