चन्द्र बस्नेत
सुरुङ्गा, पुस २८ । सुरुङ्गामा झापा जिल्लाका स्थानीय तह प्रमुख, सुरक्षा निकाय र प्रशासनवीच अन्तरकृया सम्पन्न भएको छ ।
सो कार्यक्रममा पालिकास्तरीय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा वारुणयन्त्र व्यवस्थापन सम्बन्धी छलफल तथा अन्तरकृया सम्पन्न भएको हो । कनकाई नगरपालिकाको संयोजनमा भएको सो कार्यक्रममा झापा जिल्ला औद्योगिक क्षेत्र (सुपरजोन) विस्तार सम्बन्धी छलफल भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको प्रभावकारिताका लागि विचौलियाको अन्त्य, अनुगमन समितिको व्यवस्था, प्रविधि विस्तार, कृषि सहकारीको भूमिका, कृषि उपजको उत्पादन, प्रशोधन, भण्डारण तथा बजारीकरण, कृषि गोदामघरको व्यवस्था, ग्रामीण विद्युतीकरण लगायतका विषयमा छलफल भएको थियो । सो सम्बन्धी अवधारणापत्र कार्यक्रमको अध्यक्षता समेत गरिरहेका कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रस्तुत गरेका थिए ।
झापा जिल्ला धानखेतीका लागि उपयुक्त भएकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धान सुपरजोन कार्यक्रम कचनकबल गाउँपालिकामा मात्र सीमित रहेकोमा सो कार्यक्रमको क्षेत्र विस्तार जिल्लाभर नै गर्ने उद्देश्यका लागि ७ सदस्यीय संयोजन समिति गठन गरिएको छ । उक्त समितिमा कनकाई नगरपालिका, दमक नगरपालिका, मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका प्रतिनिधि रहने बताइएको छ । सो समितिले धान सुपरजोन विस्तारका लागि आवश्यक व्यवस्थापन गर्ने र यसका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग आवश्यक समन्वय गर्ने छ ।
त्यसै गरी, दैवी प्रकोपको व्यवस्थापनलाई थप सुधार गर्नुपर्ने, विपद् व्यवस्थापन सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने र योग्य प्राविधिक जनशक्तिको व्यवस्था गरेर वारुणयन्त्र सञ्चालनमा ल्याउँदा दीर्घकालीन, टिकाउ र जनताको जीउधनको सुरक्षा गर्न सहज हुने छलफलका वक्ताहरुले धारणा राखेका थिए । कार्यक्रममा वारुणयन्त्रको व्यवस्थापनको मुख्य काम सुरक्षा निकायको भएको र नगरपालिका तथा गाउँपालिकाहरुले वारुणयन्त्र सञ्चालनका लागि सहजीकरण गर्न मात्र गर्न सक्ने व्यावहारिक तथा नीतिगत व्यवस्था भएकाले झापा जिल्लामा वारुणयन्त्रको सेवा सञ्चालन सो सम्बन्धी आवश्यक अध्ययन गर्न झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा नेपाल प्रहरीका झापा प्रमुख, सशस्त्र प्रहरी बलका झापा प्रमुख, नेपाली सेना चारआलीका प्रमुख र राष्ट्रिय अनुसन्धान केन्द्र झापा प्रमुख रहने गरी ५ सदस्यीय समिति गठन भएको छ ।
कार्यक्रममा प्रजिअ जनकराज दाहाल, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, विर्तामोड नगर प्रमुख ध्रुबकुमार शिवाकोटी, बा¥हदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, अर्जुनधारा नगर प्रमुख हरि राना, कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह, बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, गौरादह नगर प्रमुख रोहितकुमार शाह, सशस्त्र प्रहरी बल झापाका प्रमुख रेशमकुमार थक्सु, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख कृष्ण कोइराला, कनकाई नगरपालिकाका उपप्रमुख मञ्जु प्रसाई, शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, मेचीनगर उपप्रमुख मीना उप्रेती, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल खतिवडा लगायतको उपस्थितिमा कनकाई नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।