राजु पौडेल
पाँचथर, पुस २७ । संर्घषपूर्ण जित निकाल्दै झापा ११ एफसी पाँचथरको फिदिममा जारी रुस्लान १०औँ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा ए डिभिजनको सरस्वती क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगेको हो ।
फिदिमस्थित फिदिम माविको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापाको जितका लागि स्ट्राइकर कर्ण लिम्बुले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
दोस्रो हाफको ८ औँ मिनेटमा देवेन्द्र तामाङको क्रसमा कर्ण लिम्बुले हेड मार्फत बललाई जाली चुमाए । दोस्रो हाफको अन्त्यतिर सरस्वतीले झापालाई दबाबमा राखेपनि गोल गर्न नसक्दा उपाधि होडबाट बाहिरिनु प¥यो । खेलको म्यान अफ दि म्याच झापाका दिलेन लोक्ताम घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
दर्शकको भरपुर समर्थन पाएको झापा आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्ताम र गोलरक्षक मनोज प्रधानसहित मैदान उत्रेको थियो । सरस्वतीले भने फरवार्ड भिक्टोर सहित तीन विदेशी खेलाडीलाई मैदान उत्रारेको थियो ।
शनिबार दोस्रो तथा अन्तिम सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र भारतको रोयल एफसी दाजीर्लिङ भिड्दैछन् । फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । १० टिमले सहभागीता जनाएको प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुँदैछ ।
इपुर्व डटकमबाट साभार