Kanakai Online

कनकाईमा जेष्ठ नागरिक सम्मानित


शनिवार, असोज २०, २०७५ |

कनकाई अनलाईन
जेष्ठ नागरीकको सम्मान राष्ट्रको पहिचान” भन्ने मूल नाराका साथ कनकाई नगर जेष्ठ नागरीक संघको आयोजनामा सुरुङ्गामा २५ औं विश्व अल्जाइमर दिवस एवम् २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरीक दिवस मनाइएको छ ।
कनकाई उद्योग वाणिज्य संघको सभा हलमा शुक्रवार सम्पन्न भएको अन्तरक्रियामूलक कार्यक्रममा नगरका नौवटै वडाका एक एक जना गरी नौ जना जेष्ठ नागरीकलाई सम्मान समेत गरीएको छ । यसरी सम्मानित हुने जेष्ठ नागरीकहरुमा वडा नं। १ देखी क्रमशः धनमाया रम्तेल, शरणकुमार माझी, विष्णुमाया खरेल, बम वहादुर राई, सुगन मण्डल, धनमाया कुमाल, सीता पोखरेल, लुखी टुडु र गंगा मर्डी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य हिरा थापा, जेष्ठ नागरीक संघ जिल्ला उपाध्यक्ष हरी ओली, संघका कनकाई नगर अध्यक्ष पुण्यप्रसाद वाराकोटी लगायतले सम्मानित जेष्ठ पिताहरुलाई एक सेट कुर्था सुरुवाल र टोपी साथै जेष्ठ माताहरुलाई एक सेट साडी, चोलो, पेटीकोट सहित मिठाई फलफूल वितरण गरेका थिए।
कार्यपत्र समेत प्रस्तुत भएको कार्यक्रममा बाल रोग विशेषज्ञ एवम् संघका जिल्ला सल्लाहकार डा। टंकप्रसाद वाराकोटीले अल्जाइमर रोगका वारेमा संक्षिप्त जानकारीमूलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै जेष्ठ नागरीक संघ मोरङ् जिल्लाका संस्थापक सह सचिव रुद्रवहादुर तामाङ्ले जेष्ठ नागरीकको विगत, वर्तमान र भविष्यका वारेमा तयार गरेको कार्यपत्र प्रस्तुत गरेका थिए भने बरिष्ठ अधिवक्ता टंकप्रसाद उप्रेतीले जेष्ठ नागरीकको कानुनी अधिकारका वारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।
संघका कनकाई नगर अध्यक्ष पुण्यप्रसाद वाराकोटीको सभापतित्व रहेको कार्यक्रममा राज्यले जेष्ठ नागरीकहरुलाई सम्मान र संरक्षण गर्नका लागि विभिन्न किसिमका सरकारी तथा गैह्र सरकारी सामाजिक समितिहरुको गठन गरेको भएपनि ऐन,नियमावली र निर्देशिका अनुसारको काम सन्तोषजनक नभएको भन्दै सहभागीहरुले गुनासो पोखेका थिए । संघका कनकाई नगर उपाध्यक्ष गोपाल चुडालको स्वागत तथा कनकाई नगरपालिकाकी महिला विकास अधिकृत उमा अधिकारीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।
संघका नगर सचिव शम्भु पोखरेलको संचालन रहेको कार्यक्रममा अग्रज साहित्यकार कोमलप्रसाद पोखरेलले जेष्ठ नागरीकको विषयमा कविता वाचन गरेका थिए भने संघका जिल्ला उपाध्यक्ष हरी ओली, कनकाई नगर कार्यपालिका सदस्य सुनीता सिग्देल, सामाजिक अभियन्ता शिव कडेल लगायतले मन्तव्य राखेका थिए ।