Kanakai Online

शुसिला कार्की सुरुंगामा आउने


शुक्रवार, भदौ १५, २०७५ |

कनकाई अनलाईन
नेपाल जेसीजले यसवर्ष क्षेत्र ‘क’ सम्मेलन झापाको सुरुंगामा हुने भएको छ । २२ र २३ भदौंमा आयोजना हुने सम्मेलनको आतिथ्य गर्ने जिम्मेवारी सुरुंगा जेसीजले पाएको छ ।
सम्मेलनको प्रमुख अतिथिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की रहने सम्मेलनका निर्देशक कुमारमणि पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार सम्मेलनमा राजनीतिक विश्लेषकहरु प्रा।डा। सुरेन्द्र कार्की र सुरञ्जन आचार्य, सञ्चारकर्मी उज्ज्वल प्रसाईं र गायिका आनी छोइङ डोल्मा वक्ताका रुपमा उपस्थित रहनेछन् ।
क्षेत्र ‘क’ सम्मेलनको आतिथ्य शाखा सुरुंगा जेसीजका अध्यक्ष भीम भट्टराईले सम्मेलनका लागि ३० लाख रुपैयाँ बजेट छुट्टाएको बताएका छन् । जसमा नेपाल जेसीजले एक लाख रुपैयाँ सहयोग गर्ने उनले जानकारी दिए ।
नेपाल जेसीजले हरेक वर्ष ४ वटा क्षेत्रमा क्षेत्रीय सम्मेलन गर्दै आएको छ । क्षेत्र ‘क’ सम्मेलनमा झापादेखि सर्लाहीसम्मका शाखाका जेसीज सदस्यको सहभागिता रहने बताइएको छ । ‘यस्तो सम्मेलन जेसीजहरुको व्यक्तित्व र नेतृत्व विकासका लागि गरिन्छ,’ क्षेत्र ‘क’ सम्मेलनका निर्देशक एवम् सुरुंगा जेसीजका पूर्व अध्यक्ष पोखरेलले भने, ‘बन्द निषेधित नगरीको रुपमा परिचित सुरुंगामा यस वर्ष सम्मेलनको आतिथ्यता सुरुंगा जेसीजले गर्न पाउँदा हामी खुशी छौँ ।’
क्षेत्र ‘क’ सम्मेलनको प्रकरण ‘विकास, समृद्धि र सुशासनको आधार, युवालाई जिम्मेवार’ रहेको बताइएको छ । सम्मेलनमा राष्ट्रियस्तरका विद्वान व्यक्तित्वसँग अन्तरक्रिया गरिनुका साथै जेसीजहरुको छलफलबाट सुरुंगा घोषणापत्रसमेत जारी गरिने सुरुंगा जेसीजका अध्यक्ष भट्टराईले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमार्फत् कन्काई नगरीको पर्यटकीय क्षेत्रको प्रचारप्रसार बढ्नुका साथै व्यापार व्यवसाय पनि बढ्ने सुरुंगा जेसीजको विश्वास छ । क्षेत्र ‘क’ सम्मेलनमा ६ सयभन्दा बढी जेसीजहरुको सहभागिता रहने जनाइएको छ ।