रविना राई र चन्द्रा कोइराला
कनकाई नगरपालिकाका एकल महिलाहरु मौरीपालनतर्फ आकर्षित भएका छन् ।
नगरपालिकाले एकल महिलाहरुका लागि मौरी घार खरिदका लागि आर्थिक सहयाता गरेपछि यस क्षेत्रमा महिलाहरु मौरीपालनतर्फ आकर्षित बनेका हुन ।
कनकाई नगरपालिका कार्यालय, वार्ड नं. ३ र वार्ड नं. ४ को आर्थिक सहयोगमा उनीहरुले मौरीपालन व्यवसाय शुरु गरेका हुन । शिवसताक्षी दुधेस्थित शिवसतासी मौरीपालन केन्द्रमा एक कार्यक्रमका वीच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाईं, वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेलले एकल महिलाहरुलाई मौरीसहितको घार हस्तान्तरण गरेका हुन ।
२ लाख रुपैयाँको लागतमा १० घारसहितका मौरी तथा अन्य आवश्यक सामग्री खरिद गरिएको छ । मौरीपालनका लागि आ.व. २०७४÷०७५ को बजेटबाट डेढ लाख, वार्ड नं. ३ को बजेटबाट डेढ लाख र वार्ड नं. ४ को बजेटबाट ३० हजार रुपैयाँ छुट्टयाएको नगरपालिकाका प्रशासकिय अधिकृत देवेन्द्र कार्कीले बताउनुभयो ।
एपिस मेलिफेरा र एपिस सेरेना जातका मौरीहरु झापाको हावापानीमा मिल्ने भएकाले सोही जातका मौरी खरिद गरिएको छ एकल महिला संघ कनकाईकी अध्यक्ष मिरा भट्टराइले बताउनुभयो । मौरी पालन शुरु गर्नुअघि कनकाई नगरका एकल महिलाहरुले एक चरणको ३ दिने मौरीपालन सम्बन्धी तालिम संचालन गरिएको थियो । मौरी पालनबाट एकल महिला आत्मनिर्भ हुने र परागशेचनप्रक्रियाबाट उत्पादन समेत वढ्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।