Kanakai Online

समाचार आएपछि विद्यालयका बाह्रदशीभित्रका प्रधानाध्यापकहरुको आकस्मिक भेला विद्यालय सरसफाइ सुधार्न अभियान चलाइने


शनिवार, जेठ २६, २०७५ |

कनकाई अनलाईन
खुल्ला दिसामुक्त घोषणाको संघारमा रहेको बाह्रदशी गाउँपालिकाभित्रका सार्वजनिक विद्यालयको सरसफाइ नाजुक भएको समाचार विभिन्न माध्यमबाट प्रकाशन प्रसारण भएपछि गाउँपालिकाभित्र रहेका सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुको भेला शुक्रबार गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ ।
भेलाले गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको मितिभित्रै विद्यालयको सरसफाइ गर्नुका साथै शौचालयहरुको सरसफाइ गर्ने निर्णय गरेको राजगढ श्रोत केन्द्रका श्रोत व्यक्ति छवि बस्नेतले जानकारी दिए ।
“अस्ती जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुगमन टोलीले केही विद्यालयहरुको सरसफाइ कमजोर देखेपछि हिजो गाउँपालिकामा बैठक बसेको थियो”, श्रोत व्यक्ति बस्नेतले भने, “गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुको भेला बोलाउने निर्णय भए बमोजिम आज भेला बोलाइएको हो ।”
भेलामा प्रधानाध्यापकहरुले गाउँपालिका खुल्ला दिसामुक्त हुनुअघि विद्यालयको सरसफाइ कायम राख्ने कुरामा प्रतिवद्धता जनाएका छन् ।
असार पहिलो साता अभियान चलाइने
भेलाले यही आषाढ १, २ र ३ गते बाह्रदशी गाउँपालिकाभरिका विद्यालयहरुमा सरसफाइ अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ । “गाउँपालिका अध्यक्षले नै यसको नेतृत्व लिनुहुन्छ”, श्रोत व्यक्ति बस्नेतले भने, “केही विद्यालयमा मैले नेतृत्व लिन्छु, केहीमा शिक्षाबाट अरुले नेतृत्व लिनुहुन्छ । अब विद्यालयको सरसफाइमा फड्को मार्नेगरी काम हुन्छ ।”
शिक्षाको केन्द्रको रुपमा रहेको विद्यालयमै सरसफाइ नहुनु दुःखद कुरा रहेको समेत उनले स्वीकार गरे । “अरुलाई सरसफाइ र जीवनपद्धति सिकाउने ठाउँ हो विद्यालय”, उनले भने, “विद्यालय नै सफा भएन भने अरुले के सिक्लान् भन्ने प्रश्न पनि उठ्छ । अब त्यस्तो हुन दिदैनौं ।”
सञ्चार क्षेत्रले घच्घच्याएर आफूहरुलाई सुधार गर्ने अवसर दिएको पनि उनले बताए । “हामीले सुधार गर्ने ठाउँ पाएका छौं”, बस्नेतको भनाइ थियो, “अब, जसले फोहर गर्छ, उसैले सफा गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्नका लागि लागिपर्छौं ।”
सार्वजनिक विद्यालयमा सरसफाइ महाअभियान चलाउने बैठकमा संस्थागत विद्यालयको भने सहभागिता हुन सकेन । “धेरै हतारमा कार्यक्रम गरिएको हुनाले संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता गराउन सकिएन”, उनले भने, “सरसफाइको समस्या संस्थागत विद्यालयमा त्यति नभए पनि चर्पीको पर्याप्तता छ कि छैन भन्ने कुरा ख्याल गरिरहनुपर्छ । अभियानमा संस्थागत विद्यालय पनि जान्छौं ।”

सम्बन्धित खबर