सुर्य खवास, युएई
गैर आवासीय नेपाली संघ, मध्यपुर्वको छैटौं क्षेत्रीय भेला आगामी अगष्ट २४ र २५ का दिन युएईमा हुने भएको छ । भेलामा सुरक्षित वैदेशिक रोजगारी, घरेलु महिला कामदारका समस्या र विभिन्न आरोपमा मध्यपूर्वका देशको जेलका रहेका नेपालीलाई नेपाल फिर्ता गर्ने लगायतका विषय विषेशरुपले उठान गरिने भएको हुँदा नेपाल सरकारको तर्फबाट परराष्ट्र तथा श्रम मन्त्रीलाई सहभागी गराउन पहल भैरहेको गैर आवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रिय समितिका उपसंयोजक गोपाल कँडेलले जानकारी दिए ।
मध्यपूर्वका १२ देशका एनसिसी तथा आइसिसी प्रतिनिधिको सहभागितामा सम्पन्न हुन लागेको उक्त भेलालेमध्यपूर्वमा कार्यरत नेपाली कामदारहरुले भोग्दै आएका विविध पाटोहरुमा छलफल गरि घोषणापत्र जारी गर्ने उपसंयोजक कँडेलले बताउनु भयो ।
युएईले मध्यपुर्वको भेला गर्ने यो अवसर दोश्रो पटक पाएको हो । हरेक दुई वर्षमा हुने क्षेत्रीय भेला यस भन्दा अगाडि सन २०११ मा युएईले भेला सम्पन्न गरिसकेको छ । एनआरएनए आइसिसीको मध्यपूर्वमा कतार, युएई, बहराइन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेवनान, इजरायल, यमन, इजिप्ट र सिरिया पर्दछन।