कनकाई अनलाईन
विर्तामोड नगरपालिका, वडा नं. ९ खुल्ला दिसामुक्त भएको छ । प्रदेश सभा सदस्य एकराज कार्कीले वडा खुल्ला दिसामुक्त भएको घोषणा गरे ।
वडा नं. ९ मा रहेका १ हजार १ सय ४६ घरधुरीमध्ये खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ८ सय १८ घरमा सुरक्षित शौचालयको पहुँच रहेको थियो । १ सय ८३ घरधुरीमा असुरक्षित शौचालय रहेका थिए भने १ सय २२ घरधुरीले खुल्लामा नै दिसा गर्ने गरेका थिए । अभियानका क्रममा असुरक्षित चर्पी भत्काउनुका साथै साझेदारीमा चर्पी प्रयोग गर्ने घरधुरीले समेत एक घर एक चर्पी बनाएको सरसफाइ प्रतिवेदनमा उल्लेख छ ।
खुल्ला दिसामुक्त घोषणा समारोहमा अभियानमा सहयोग गर्ने संघसंस्था, निकाय र व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।
प्रमुख अतिथि कार्कीले सामाजिक संस्कारहरु मानव सृजित व्यवहार भएकोले यसलाई फेर्नका लागि समुदायकै सचेत व्यक्तिहरु लाग्नुपर्ने बताए । “परिवर्तनका लागि बल समेत लगाउनुपर्छ, समाज आफै परिवर्तन हुँदैन”, प्रमुख अतिथि कार्कीले भने, “यहाँ पनि कतिका कच्ची चर्पी भत्काउनुप¥यो, कतिपय घरधुरीलाई दवाव समेत दिनुप¥यो । तर, यो सबै सामाजिक परिवर्तनका लागि हो ।”
राष्ट्रिय समृद्धिका लागि शिक्षामा लगानी गर्नुपर्नेमा उनले जोड दिए । “बाटो र पुलले जीवन सहज त बनाउँछ, तर समृद्धि हासिल गर्नका लागि सूचनामा पहुँच हुनुपर्छ, शिक्षामा जोड दिनुपर्छ”, उनले भने, “त्यसैले शिक्षामा सबैको पहुँच हुनुपर्छ ।
यसका लागि शिक्षामा भैरहेको असमानता हटाउनुपर्छ ।”
विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले खुल्लामा दिसा गर्ने कार्य सामाजिक अपराध भएकोले नगरपालिकाले खुल्लामा दिसा गर्नेहरुमाथि शून्य सहनशीलता अपनाउने बताए । “नगरपालिकाले कार्यविधि बनाएर पूर्ण सरसफाइ प्रवद्र्धनका लागि अघि बढ्छ”, उनले भने, “कोही कसैले खुल्लामा दिसा गर्छ भने फोटो खिचेर ल्याउनुहोस्, गल्ती गर्नेलाई सजायँ दिन्छौं, फोटो खिचेर ल्याउनेलाई पुरस्कृत गर्छौं ।”
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले सरसफाइ प्रवद्र्धनलाई अन्य सामाजिक अभियानसँग जोडेर लैजानुपर्ने बताए । “खुल्ला दिसामुक्त नहुँदासम्म खुल्लामा दिसा हुँदा खुट्टाले कुल्चिन्थ्यो”, उनले भने, “अब घोषणा गरेपछि प्रतिवद्धता र पूरा नहुनु भनेको नाकले दिसा कुल्चनुसरह हुन्छ ।”
वडा नं. ९ का अध्यक्ष पवित्रा पाठकको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका रुद्रबहादुर न्यौपाने, विर्तामोड–१० का अध्यक्ष दूर्योधन गुरुङ, सहारा नेपालका एल.बी. गिरी, वडास्तरीय सरसफाइ समन्वय समितिका जयराज ढकाल, तुलसिराम काफ्ले, काजि बूढाथोकी लगायतले बोलेका थिए । दुर्गा माध्यमिक विद्यालयका कलाकारहरुले सरसफाइ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
१० वडा रहेको विर्तामोड नगरपालिकाका ८ वडा खुल्ला दिसामुक्त भएका छन् । वडा नं. ७ र ९ मा १ सय ९५ घरधुरीमा सुरक्षित चर्पी निर्माण गर्न बाँकी रहेको छ ।