Kanakai Online

जेसीजको लोम अफिसर्स र मोटिभेसन तालिम


मङ्गलवार, चैत १३, २०७४ |

कनकाई अनलाईन
वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा ‘लोम अफिसर्स तथा मोटिभेसन’ सम्बन्धी एकदिने तालिम आज सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरी र वीरता लेडीकी अध्यक्ष नम्रता ढकालको संयुक्त अध्यक्षतामा भएको तालिमको उद्घाटन प्रमुख अतिथि कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले गरेका थिए । उद्घाटनमा मन्तव्य राख्दै प्रमुख अतिथि पोखरेलले जेसीजले कुशल र असल नेता जन्माउने हुँदा जेसीजबाट उत्पादित नेतृत्व समाजमा बिक्ने र सबैले मान्ने हुनुपर्ने बताए । असल र कुशल नेतृत्व हुनका लागि तालिम जरुरी रहेको बताउँदै पोखरेलले जेसीजले आयोजना गरेको तालिम नेतृत्व विकासको लागि उपयोगी हुने बताए ।
५० जनाको सहभागिता रहेको तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालले प्रशिक्षण दिएका थिए । प्रमुख प्रशिक्षक अग्रवालले जेसीजमा आबद्ध सबैलाई तालिमको जरुरी हुने बताउँदै अब वीरता जेसीजको विधान अनुसार कम्तीमा तीनवटा तालिममा सहभागी नभएको सदस्यले नेतृत्वका लागि उम्मेदवारी दिन नपाउने स्पष्ट पारे । अग्रवाल वीरता जेसीजले यसैवर्ष पारित गरेको विधान संशोधन समितिका संयोजक समेत हुन् ।
वीरता जेसीजका अध्यक्ष गिरीले औचित्यमाथि प्रकाश र वीरता लेडीकी अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेको तालिम उद्घाटन समारोहको सञ्चालन वीरता जेसीजका महासचिव विनोद पाण्डे कमलले गरेका थिए । वीरता जेसीजका तालिम संयोजक विकास बस्नेतले स्वागत, कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले जेसीआई मिसन, भिजन तथा जेसीआई नेपाल र वीरता जेसीजको थिम वाचन गरेका थिए भने वीरता लेडीकी उपाध्यक्ष कामना उप्रेतीले आस्था वाचन गरेकी थिइन् ।
वीरता लेडीबाट तालिम संयोजकको भूमिका रिमा भट्टराईले निर्वाह गरेकी थिइन् ।
 

सम्बन्धित खबर