काठमाडौँ — झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेल लामो समयदेखि राजनीतिमा सक्रिय छन् । तत्कालीन सुरुङ्गा गाविसका पूर्वउपाध्यक्ष उनी एमालेबाट नगरप्रमुखमा विजयी बनेका हुन् ।आफ्नो नगरलाई देशकै पहिलो विद्युत् चुहावट मुक्तनगर घोषणा गरेका प्रमुख पोख्रेलसँग नगरका विभिन्न गतिविधिबारे कान्तिपुर दैनिकबाट पर्वत पोर्तेलले गरेको कुराकानी स्
जिम्मेवारी सम्हालेको ८ महिनामा केके भए रु
नगरमा आउने वित्तिकै धेरै समस्याको चाङ थियो । अझै पनि छ । चुनावमा प्रतिबद्धता गरेका कुराहरू थिए । ती कुराहरू पनि हामीले लिएर आएका थियौं । जनताले जे कामका लागि म्यान्डेट दिए, ती कामहरूलाई योजनाबद्ध ढंगले गर्न थालेका छौं । नगरपालिकाले वार्षिक कार्यक्रममार्फत योजना कार्यान्वयन गर्नेछौं । नगर परिषदमार्फत धेरै योजनाहरू समेटेका छौं । ज्येष्ठ नागरिकको बिमा गरेका छौं । नदीमा हुने कटानको उचित तटबन्ध सुरु गरेका छौं । ३० फुटे सडकलाई दोव्बर फराकिलो बनाइरहेका छौं । सुकुम्बासीहरूलाई धनीपुर्जा वितरण पनि सुरु गर्दैछौं ।
काम गर्न कत्तिको सहज छ
कानुनको अभाव छ । अनुसूची ९ मा भएका अधिकारहरूका कारणले गर्दा काम सहज ढंगले अघि बढ्न नसकेको अवस्था छ । यद्यपि भ्रष्टाचार शून्य सहनशिलताको कुरालाई कार्यान्वयन गरेका छौं । आन्तरिक प्रशासनलाई चुस्त बनाउँदै छौं । चौतर्फी विकासका लागि अघि बढिरहेको छ ।
नगरलाई देशकै पहिलो विद्युत् चुहावट मुक्त नगर घोषणा गर्नुभयो, यसको आधार के हो रु
माघ १० गते चुहावट मुक्त नगर बनाउने निर्णय गरिएको थियो । त्यसयता विद्युत् चुहावट भएको क्षेत्रमा लगातार खटिँदै आएका छौं । पोल नभएको स्थानमा पोल पुर्याउने, तार नभएकालाई तार दिने र मिटर दिने काम भयो । जहाँ चोरी भइरहेको थियो, त्यहाँका बासिन्दालाई विद्युत् चोर्न दुरुत्साहित गर्यौं । पूर्ण रूपमा चोरी नियन्त्रण भएको निष्कर्षपछि विद्युत् चुहावटमुक्त नगर घोषणा गरेका हांै ।
नगरको विशेषता के हो
भौगोलिक कारणले अरू नगरका तुलनामा भिन्न छौं जस्तो छ । १२ सय हेक्टर जति सामुदायिक वनले ओगटेको छ । जातीय विविधता छ । पर्यटकीय दृष्टिले पनि अग्रणी छ । १३ वर्षदेखि कन्काई बन्द निषेधित छ । खेलकुद, धार्मिक पर्यटनलगायत क्षेत्रमा यसलाई विकास गर्न सकिन्छ । विकासमा नगरवासी एकताबद्ध छौं । मानवीय, प्राकृतिक, धार्मिक हिसाबले सम्भावना बोकेको छ ।
चुनौती के–के छन्
चुनौती धेरै छन् । तर, चुनौती भएकै ठाउँ ज्यादा सम्भावना पनि हुन्छ । कन्काईलाई दुई वर्षभित्रमा उज्यालो नगर बनाउने अभियान सुरु गरिसकेका छौं । दुई वर्षपछि कसैले पनि टुकी बाल्नुपर्ने छैन । हरेक घरमा विद्युत् पुग्नेछ । उत्तरतिरको चुरे क्षेत्रमा बर्सेनि भू–स्खलन हुने गरेको छ । त्यसलाई रोक्ने प्रयत्न गर्छांै । बजेटको चुनौती देखिन्छ यसका लागि पर्याप्त बजेट आवश्यक पर्न सक्छ । बजेट भयो भने कन्काई समृद्ध नगरका रूपमा विकास हुने कुरामा दुइमत छैन । ५ वर्षभित्र धेरै परिवर्तन गर्न सक्छांै ।
नगरमा प्राथमिकताको विषय के हो
पहिलो प्राथमिकता सुकुम्बासी समस्या समाधान । दोस्रो दुई वर्षभित्र उज्यालो नगरी । तेस्रो व्यवस्थित तटबन्ध । चौथो कुरा पर्यटन प्रवद्र्धनमा जोड दिने । पाँचौं कृषिको क्षेत्रमा तीन वर्षभित्र विषादीमुक्त नगरका रूपमा विकास गर्ने हो । जैविक विषादी बनाउने तालिमहरू सुरु गरेका छौं । तीन वर्षभित्र रासायनिक विषादीलाई पूर्ण रूपमा विस्थापित गर्नेछौं ।
आम्दानीका स्रोत के–के छन्
मुख्य स्रोत भनेको एकीकृत सम्पत्ति कर, यसले लिने विभिन्न व्यावसायिक कर, नदीजन्य सम्पदाहरूको ठेक्काबाट प्राप्त रकम, हाटबजार कर तथा पर्यटकीय गन्तव्यहरू आदि नै हुन् ।
५ वर्षपछि कन्काई नगर कस्तो बन्ला
सिष्टमसहित विकास गर्ने लक्ष्य हो । भोलि मैले छाड्दै गर्दा मैले गरेका केही कामलाई जनताले सधंै सम्झिरहने छन् । घरवारविहीनहरूको घर हुने छ । चौतर्फी विकास हुने छ । विकासका पूर्वाधारहरूको अभाव खडकने छैन । एउटा समुन्नत, समृद्ध र सुन्दर नगर बन्ने छ ।