Kanakai Online

९ फिटमुनी बसेर ९ दिनै भुतपस्या


आइतवार, चैत ४, २०७४ |

कनकाई अनलाईन
झापाः दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष विदुषी बृन्दादेवी बराल आइतवारदेखि नौ दिने भू–तपस्या बस्नु भएको छ । शिवसताक्षी–१० माइधारमा जमिनमुनि पसेर उहाँले भू–तपस्या सुरु गर्नु भएको हो ।
नवदिवसीय आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायक्षको अवसर पारेर विदुषी बरालले नौ दिने भू–तपस्या सुरु गर्नु भएको आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीले बताउनु भयो । छ सय रुपैयाँ तिरेर महायज्ञका सदस्य भएकालाई भू–तपस्याबाट जागृत भएको रुद्राक्ष माला र माटो प्रदान गरिनेछ ।
आइतवार साँझ साढे पाँच बजे जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले आशीर्बचन दिएपछि उहाँ भू–तपस्याका लागि पूर्वीद्वारबाट जमिनमुनि पस्नु भएको हो । ‘नौ फिट गहिरो खाल्डोभित्र बसेर उहाँले नौ दिनसम्म निराहार भू–तपस्या गर्नु हुनेछ’, उपाध्यक्ष सुबेदीले भन्नुभयो ।
नौ फिट गहिरो खाल्डोलाई माथिबाट बाँस लगाएर प्लाष्टिकले छोपिएको छ । त्यसमाथि प्लाइउड ओछ्याइएको छ । प्लाइउडमाथि कालो प्लाष्टिक ओछ्याएर माटोले पुरिएको छ । सो माटोमा जमरा छरिएको छ । सो जमरा महायज्ञका क्रममा प्रयोग हुने सुबेदीले बताउनु भयो ।
माइधारमा कन्या गुरुकूल र निराश्रित महिला तथा अनाथ बालआश्रम स्थापना गर्ने लक्ष्यका साथ आफू भू–तपस्यामा बसेको विदुषी बरालले बताउनु भयो । भू–तपस्याका लागि जमिनमुनि जानुअघि सयौँ भक्तजनले उहाँप्रति सम्मान प्रकट गरेका थिए । कैयौँ महिलाका आँखामा आँसु देखिन्थ्यो । उनीहरुले विदुषी बराललाई पुष्पगुच्छा चढाएर भू–तपस्या सफलताको कामना गरे ।
महायज्ञ प्रारम्भ भइरहँदा धर्मानुरागीले सकेको दान घोषणा गरेका थिए । बरालको भ–ूतपस्या चैत १२ गते पूरा हुनेछ । तपस्या पूरा भएपछि उहाँ जमिनको दक्षिणतर्फबाट बाहिर निस्कनु हुनेछ । महायज्ञ समापनका अवसरमा उहाँ आफैँले होम होमादीका काम गर्ने सुबेदीले जानकारी दिनुभयो ।
विदुषी बराल यसअघि दुई पटक भू–तपस्यामा बस्नु भएको थियो । पहिलो पटक २०६३ पुसमा ललितपुरको गोदावरी र २०६६ चैतमा ताप्लेजुङमा उहाँले सफलतापूर्वक भू–तपस्या पूरा गर्नु भएको जनाइएको छ ।
 

सम्बन्धित खबर