Kanakai Online

आर्मीमा नवयुग नायक बने


शनिवार, फागुन २६, २०७४ |

कनकाई अनलाईन
झापामा जारी रमपम झापा तेस्रो गोल्डकपको उपाधि रक्षाका लागि चिरपरिचित प्रतिस्पर्धीहरु आयोजक झापा ११ र विभागिय टिम त्रिभुवन आर्मी एकअर्कामा आमनेसामने हुने भएका छन ।
शनिवार भएको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब अर्को चर्चित क्लव मनाङलाई १— ० गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको छ ।खेल सुरु भएको दोस्रो मिनेटसम्म सम्मालिन नसक्दा अघिल्लो संकरणको विजेता मनाङको झापा गोल्डकपको सेमिफाइनलबाटै रोकिएको छ ।
आर्मीको जितका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको एकमात्र गोल निर्णायक बन्यो । श्रेष्ठले खेल शुरु भएको दोस्रो मिनेटमा गरेको गोलको मदतले आर्मी फाइनल प्रवेश गरेको हो । श्रेष्ठले पोष्टको दायाँ बार च्याप्दै गरेको बलले जाली चुमेको थियो । त्यसपछिको खेल दुवै टिमका लागि औपचारिकताका लागि मात्रै बनेको थियो ।
खेलको ४५ औं मिनेटमा मनाङका सबै खेलाडी बीट भइसकेको अवस्थामा आर्मीका टंक बस्नेतले गोल गर्न सकेनन् । मनाङका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई रेफ्री श्याम दनुवारले सिटी नवजाएपछि पनि उनले गोल गर्न सकेनन । गोलकिपर दिनेश थापा मगरलाई क्रस गरेर गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।
तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रिएको मनाङका लागि खेलको १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । अञ्जन बिष्टको फ्रि किकमा भिक्टोरले गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो । २४ औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रस पासमा बिमल रानाले डि बक्समा पाएको बललाई फितलो प्रहार गरेका थिए । ५९ औं मिनेटमा बिशाल राइको क्रस पासमा अञ्जन बिष्टले गरेको हेडर आर्मीका गोलरक्षक बिकेश कुथुले पञ्च गरेर बाहिर फ्याँकिदिएका थिए ।
खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका गोलरक्षक बिकेश कुथु घोषित हुनुभयो । उहाले नगद २५ हजार रुपैया पुरस्कार पाउनुभयो ।
फाइनल खेल आगामी सोमवार हुदै छ । यो फाइनल खेलमा आयोजक झापा ११ लाई पहिलो संकरणमा फाइनलमा त्रिभुवन आर्मीसगको हारको वदला लिने मौका समेत मिलेको छ । झापा गोल्डकपका तीनै संस्करणमा झापा फाइनलको यात्रा तय गरेपनि उपविजयीमै चित्त बुझाउदै आएको थियो । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५१ हजार र उपबिजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस पटक अघिल्ला संकरणको भन्दा झापाली खेलाडीलाई वढी सुविधा र अन्य क्लवका विश्वास श्रेष्ठ लगायातका केहि राम्रा खेलाडीहरु टिममा अनुबन्ध गरेकाले समेत झापाली टिम बलियो आत्मबलका साथ खेल्ने झापा ११ का अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो । खेलमा आर्मी बाइमा रहेर नेपाल पुलिसलाई १—० र आजको खेलमा मनाङलाई समेत १—० गोल अन्तरले पन्छाउदै फाइनलको स्थान बनाएको हो भने झापाले ३ खेल जितेर फाइनल प्रवेश गरेको हो । झापाले पहिलो खेल सुदुरपश्चिमलाई ५—० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा पाहुना टोली युनाइटेड सिक्किम ११ लाई २—१ गोलअन्तरले हराएको थियो । सेमिफाइनलमा झापाले थ्री स्टार क्लवको चुनौती ट्राईब्रेकरमा पन्छाएर फाइनलको यात्रा सुरक्षित गरेको थियो ।
 

सम्बन्धित खबर