Kanakai Online

पान नखान नगरप्रमुखलाई सुझाव


आइतवार, पौष ३०, २०७४ |

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई चिकित्सकले पान नखान सल्लाह दिएका छन् ।
यहाँको बिराटपोखरमा  चारवटा सहकारी संस्था र एउटा कीर्तन मण्डलीले संयुक्तरुपमा आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्न बोलाइएका नगरप्रमुख शिवाकोटीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सकले यस्तो सुझाब दिएका हुन् । यद्यपी नगरप्रमुख शिवाकोटीलाई अहिलेसम्म मुख सम्बन्धी समस्या नरहेको चिकित्सकले बताए ।
चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालका डाक्टर देज गौतमले मुख, जिब्रो तथा घाँटीको क्यान्सर हुनसक्ने औंल्याउँदै नगरप्रमुखलाई पान नखान सल्लाह दिएका हुन् । स्वास्थ्य शिविरको उद्घाटन समारोहमा डाक्टर गौतमले क्यान्सर सम्बन्धी सचेतनामूलक सहजीकरण गर्दै कोशी पूर्वका बिरामी क्यान्सर भएर भरतपुर जाने गरेको सुनाए । उनले नेपालमा हरेक वर्ष ५ लाख मानिसहरुलाई क्यान्सर रोग लागेको पहिचान गरिँदै आएको र तीमध्ये १५ प्रतिशत हाराहारीको मृत्यु हुने गरेको पनि औंल्याए ।
हरेक मानिसले खानपानमा ध्यान पुर्याउन सकेमा क्यान्सर रोग लाग्नबाट बच्न सकिने डाक्टर गौतमले सुझाव दिए ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै नगरप्रमुख शिवाकोटीले निशुल्क स्वास्थ्य शिविरजस्तो रचनात्मक कामको सराहना गर्दै यस्तो शिविरलाई कम्तीमा नगरस्तरीय बनाउन चिकित्सकहरुबाट सहयोगको अपेक्षा सुनाए ।
स्थानीय नवदुर्गा कीर्तन मण्डलीको संयोजनमा आयोजित नाक, कान, घाँटी तथा महिलाको पाठेघरको क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा धरानको घोपा क्याम्पका चिकित्सक एवम् भरतपुर क्यान्सर अस्पतालका चिकित्सकहरुले प्राविधिक सेवा दिएका हुन् ।
कीर्तन मण्डलीका उपाध्यक्ष कृष्णा प्रसाईंले निशुल्क स्वास्थ्य शिविरको आयोजनाको औचित्य प्रष्ट्याउँदै हरेराम हरेकृष्ण मात्र नगरेर सामाजिक काम पनि गरौं भन्ने मनसायले महिलामा पाठेघरको क्यान्सर बढिरहेको अवस्थामा सो को न्यूनीकरणमा पनि मद्धत पुगोस् भनेर शिविर चलाइएको बताइन् शिविरमा नाक, कान र घाँटी सम्बन्धी ३९० जनाले परीक्षण गराएर औषधि लगेका छन् भने महिलाको पाठेघर सम्बन्धी १६० जनाले परीक्षण गराएका विराट बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रुद्र सिटौलाले जानकारी दिए । महिलाको पाठेघर जाँच गराउनेमध्ये चार जनामा क्यान्सरको आशंका गरिएकाले चिकित्सकले अस्पताल जान सुझाव दिएको पनि सिटौलाले बताए । साझामन्च अनलाईनबाट

सम्बन्धित खबर