Kanakai Online

सङ्गीतमय बन्दै चुनावी प्रचार


आइतवार, मंसिर १७, २०७४ |

प्रकाश पौडेल
धुलावारी । चुनावको मिति नजिकिदै गर्दा माहोल पनि तातिदै गएको छ ।
क्षेत्र नं. १ मा त अझ चुनावी माहोल एउटा उत्सवमय बनिरहेको छ । बढ्दै गएको चिसोमा मतदातालाई न्यायोपनसँगै विश्वास जित्न दल तथा उम्मेद्वारले गीत सङ्गीतलाई पनि साथसाथै अघि बढाएका छन् ।
बाम गठबन्धनले चर्चित जनवादी गायकहरुलाई १ नम्बर क्षेत्रमा उतारेर चुनावलाई सङ्गीतमय बनाइरहेको छ । जनवादी गायक जेवी टुहुरे, शम्भू राई, टीका भण्डारी, नवोदित गायक भूषण राईलगायतका कलाकारहरु यतिखेर १ नं. क्षेत्रका विभिन्न चोकमा जनताको मनछुने जनवादी गीतहरु गाइरहेका छन् ।
केही दिनअघि काठमाडौँबाट आएको कलाकारको टोलीले बाम गठबन्धनका उम्मेद्वारको पक्षमा गीतमार्फत् भोट मागिरहेका छन् । धुलावारी, चन्द्रगढी, शान्तिनगर लगायतका चोकमा आयोजित साँस्कृतिक कार्यव्रmममा कलाकारहरुले कम्युनिस्ट गीत प्रस्तुत गरेर मतदातालाई जुरुक्क–जुरुक्क उठाएका मात्र छैनन्, बाम उम्मेद्वार जिताउन हौसाइरहेका पनि छन् ।
जनवादी गायक टुहुरेको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई’ बोलको जनवादी गीत नसुनेको प्राय पुराना मान्छे कोही छैन । अहिले पनि यो गीत नयाँ पुस्तामाझ लोकप्रिय नै छ । यतिसम्म कि नाच्न नजान्नेलाई नाच्न बाध्य बनाउने खालको ऊर्जा दिइरहेको छ । जनतालाई जुरुक्क उठाउने यी र यस्तै जनवादी गीतहरु १ नं. क्षेत्रमा घन्किरहेको छ ।
‘हामी गीतमार्फत् परिवर्तनका लागि हिँडिरहेका छौँ, इटाभट्टा चोकमा शनिवार आयोजित साँस्कृतिक कार्यव्रmममा आफ्नो गीत प्रस्तुत गर्नुअघि मन्तव्यको व्रmममा टुहुरे भन्दै थिए–‘जनताको मुक्तिका लागि म अहिले पनि सङ्घर्ष गरिहेको छु, बुढेसकाल नभनी तपाईहरुसँग आएको छु । त्यसैले बाम उम्मेद्वारलाई अत्यधिक बहुमतले जिताउनु पर्छ ।’
झापामै जन्मिएका राष्ट्रका चर्चित सङ्गीतकार तथा रेडियो प्रस्तोता टिका भण्डारीले बाम गठबन्धनका उम्मेद्वारलाई जिताए मात्र मुलुक सम्वृद्ध बन्न सक्ने भएकाले राम कार्की जस्ता बौद्धिक विचारकलाई जिताउन आफू १ नं. क्षेत्र आएको बताए ।
कलाकारहरुले शनिवार इटाभट्टा चोक, खुट्टीडाँगीमा गीत प्रस्तुतसँगै प्रतिनिधि सभा उम्मेद्वार राम कार्की, प्रदेश सभा उम्मेद्वार श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीको पक्षमा भोट मागेका छन् । आइतवारसम्म सङ्गीत टोली १ नं. क्षेत्रमा रहने बताइएको छ ।