Kanakai Online

सताक्षी गोल्डकपमा मनाङ्ग र आर्मी उपाधिका लागि आमने सामने


मङ्गलवार, मंसिर ५, २०७४ |

लीलाराज झापाली 
झिलझिले , मंसिर ५ गते । झापाको शिवसताक्षी झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा आयोजक सताक्षीधाम स्पोटिङ्ग क्लवलाई २—१ गोल अन्तरको सङ्घर्षपुर्ण जित निकाल्दै काठमाण्डौको मनाङ्ग मस्याङ्दी स्पोटिङ्ग क्लव काठमाण्डौँ फाईनलमा प्रवेश गरेको छ ।
मनाङ्गले दोस्रो सताक्षी गोल्डकपको उपाधिका लागि विहिवार त्रिभुवन आर्मीसग प्रतिस्पर्धा गर्दै छ ।
मंगलवारको खेलमा आयोजकका कलेक्शन टिमले मनाङ्गका सेट टिमलाई निक्नै दवावमा राखेका थिए । खेलको ४ मिनेटमानै आयोजकका खेलाडीहरु सेट नभइसकेको अवस्थामा मनाङ्गका विमल रानाले गोल गर्दै मनाङ्गलाई १—० गोल अन्तरले अग्रता दिलाउनुभयो । रानाले विशाल राई वीको पासमा पोल नजिक्कैवाट गरेको प्रहार आयोजकका विशाल श्रेष्ठले कुनै अनुमान लगाउन नसक्दा आयोजकले सुरुमै गोल खान पुगेको थियो । १—० गोल अन्तरले पछि परेको आयोजकका खेलाडीहरु सम्मालिएर खेल्न प्रयास गरेका थिए । आयोजकको तर्फवाट खेलको २६ औँ मिनेटमा रेजिन सुब्बाले वान भर्सेस वानमा गोल गर्दै खेल वरावरीमा ल्याउनुभएको थियो । सुब्बाले मनाङ्गका गोलकिपर दिनेश थापामगरलाई समेत विट गदै गोल गर्नुभयो ।
खेल वरावरीमा ल्याएसगै आयोजक र मनाङ्गका खेलाडीहरु दुवै प्रतिस्पर्धामा आएका थिए । तर दोस्रो हाफ सुरु भएको केहि सेकेण्डभित्रै मनाङ्गका विशाल राईले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो । राईले रिवाउन्स वललाई गोलको दिशा दिनुभएको थियो । यो गोलनै मनाङ्गका लागि विजयी गोल बन्न पुग्यो । त्यसपछि आयोजकका लागि चर्चित स्ट्राइगरहरु विमल घर्तीमगर , सुनिल वल , सुमन लामाहरुले खुलेर खेल्न नसक्दा आयोजक टिम सेमिफाईनलबाटै विदा हुनुपर्यो । आजको खेलको म्यान अफ द म्याच मनाङ्गका विशाल राई बन्नुभयो । उहाँले नगद १० हजार पाउनुभयो । आजको खेलमा मनाङ्गका खेलाडीलाई आयोजकका खेलाडीले खेलअवधिभर पुरा दवावमा राखेका थिए । खेलको १४ औ मिनेटमा आयोजकका खेलाडी विमल घर्तीमगरलाई लडाएपछि पाएको फ्रि किकमा विमलकै प्रहार थोरै माथिबाट वाहिरिएको थियो । २३ औ मिनेटमा आयोजकका रेजिन सुब्बाले खाली पोस्टमा गोल गर्न सक्नुभएन । २४ औ मिनेटमा पुन आयोजकका सुनिल वलको पासमा रेजिन सुब्बाले गरेको प्रहार मनाङ्गको पोलमा लागेर फर्कियो ।
यो जित सगै मनाङ्ग झापाको यस भुमिमा आर्मीसग फाईनलको भेट पक्का गरेको हो । आर्मीले झापाकै अर्को टिम रमपम झापा ११ लाई ३—० गोल अन्तरले हराउदै फाईनलमा प्रवेश गरेको थियो ।
सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार रुपैँया पाउने छन ।
फोटो ः आयोजक सताक्षी स्पोटिङ्गका गोल किपर विशाल श्रेष्ठ गोल रक्षा गदै ः लीलाराज झापाली

सम्बन्धित खबर