Kanakai Online

स्थानीयले भने—‘हात्ती समस्या समाधान गर्नेलाई भोट’


शनिवार, मंसिर २, २०७४ |

कनकाई अनलाईन
काँकरभिट्टा, १ मंसिर÷ झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेद्वार राम कार्कीलाई शुक्रबार बाहुनडाँगीबासीले हात्ती समस्या दिर्घकालीन रुपमा समाधान गरिदिन माग गरेका छन् ।चुनावी प्रचारप्रसार अभियान लिएर मेचीनगर–४ स्थित राम जानकी मन्दिर पुगेका कार्कीसमक्ष स्थानीयले प्रमुख मुद्धाको रुपमा हात्ती समस्या रहेकोले समाधान खोजिदिन आग्रह गरेका हुन् ।
उनीहरुले वर्षभरि दुःख गरेर उब्जाएको खेती हात्तीको उपद्रवले थन्काउन नपाएको समस्या सुनाए । ‘हामीलाई यो गर्छु, उ गर्छु भन्ने उम्मेद्वार चाहिएको छैन,’ स्थानीय राकेश आचार्यले भने–‘जसले यहाँको हात्ती समस्या समाधान गर्न सक्छ, उसैलाई भोट दिन्छौँ ।’स्थानीयले हात्ती समस्या समाधान गर्न सक्ने हैसियत बनाएका नेता राम कार्कीलाई पाएकोमा गर्व गरे ।
‘कार्की राष्ट्रिय राजनीतिकको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ,’ आचार्यले भने–‘ त्यही भएर हाम्रो समस्या उहाँले मात्र समाधान गर्न सक्नुहुन्छ भन्ने विश्वास हामीलाई लागेको छ ।’   स्थानीयले गुनासो राखेपछि प्रतिनिधि सभाका उम्मेद्वार कार्कीले आफुले जितेपछि सिंहदरबार पुगेर पहिलो समस्या हात्तीको विषय प्रमुख बनाउने आश्वासन दिए । ‘हात्तीको समस्या देखाएर बाहुनडाँगीमा छोरीचेली पठाउन हुन्न भन्ने हल्ला चलेको पाएको छु, तपाईहरु अब ढुक्क हुनुस हात्ती समस्या सदैका लागि अन्त्य हुदैछ ।’  कार्कीले बाहुनडाँगी क्षेत्रको विकासमा आफुले सक्दो पहल गर्ने बचन दिए ।
बाटो कालोपत्रे, कल्भट निमार्ण, सिञ्चाईलगायतका समस्या रहेकाले ती विकासका पुर्वाधारहरु ल्याउन आफ्नो भुमिका रहनेमा कुनै शंका नगर्न कार्कीले विश्वास व्यक्त गरे । कम्युनिष्टहरु गरिबको पक्षमा काम गर्ने पार्टी भएकाले यहाँका शोषित पीडित जनताको समस्याहरुलाई गम्भीर रुपमा लिएको उनले बताए ।
बामपन्थी सरकार बनेपछि किसानहरुलाई पेन्सन र बृद्धभत्ता ५ हजार पुर्याउने कार्कीको कथन छ । ‘हामी बोल्न, लेख्न, उपचार पाउने कुरालाई प्रजातन्त्र भन्छौँ, घुमाउरो शैलीमा काँग्रेसप्रति इंङिगत गर्दै कार्कीले भने—‘उसले लेख्न र भाषण गर्ने कुरालाई प्रजातन्त्र भन्छ । तर, त्यस्तो खालको कुराले प्रजातन्त्र हुन सक्दैन ।
’ नेता कार्कीले झापामै बसेर राष्ट्रिय योजना बन्न नसक्ने बताए । उनले भने—‘नीति त सिंहदरबारमा बन्छ, यहाँ बसेर घिन्ताङ—घिन्ताङ मादल बजाएर हुनेवाला केही छैन ।’कार्यक्रममा प्रदेश सभा १ का उम्मेद्वार श्रीप्रसाद मैनालीले कम्युनिष्ट सरकार बनेपछि मात्र विकास सम्भव हुने दावी गरे । उनले गणतिय हिसाबमा बाम गठबन्धनको जित निश्चित रहेकाले कसैको भ्रमको पछि नलाग्न आग्रह गरे ।झापा क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिको आयोजनामा भएको चुनावी कार्यक्रम शुक्रबार पनि मेचीनगरका विभिन्न टोल तथा चोकमा भएका छन् ।
मेचीनगर—४ को आमडाँगी, रामजानकी मन्दीर, बाहुनडाँगी बजार तथा मेचीनगर—६ स्थित शान्ति टोलको कार्की बन्धु भेलामा चुनावी कार्यक्रम भएको प्रचारप्रसार समितिका संयोजक विष्णु प्रसाईले जानकारी दिए ।त्यस्र्तै प्रदेश सभा २ का उम्मेद्वार गोपाल बुढाथोकीले बुद्धशान्ति—५ स्थित आयाबारीका मतदातासँग भेटघाट कार्यक्रम गरेका छन् ।