झापा । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई प्रभावशाली दुई जना नेताले निर्वाचनको पूर्वसन्ध्यामा पार्टी परित्याग गर्दा ठुलो झट्का लागेको छ ।
झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका शर्मालाई उनैका विश्वास पात्रले पार्टी परित्याग गर्दा अप्रत्यासित क्षति पुगेकोे बताइएको छ । वाम गठवन्धनको चेपुवामा परेका शर्मालाई आफ्नै विश्वास पात्रले पार्टी परित्याग गर्दा पराजयको संकेत देखिन थालेको चर्चा शुरु भएको छ ।
गत बुधबार विश्वप्रकासका सारथी नेपाल उधोग वाणिज्य संघ प्रदेश नम्वर एकका संयोजक नरेन्द्र खड्काले पार्टी परित्याग गरे पछि तनावमा रहेका शर्मालाई शुक्रवार अर्को संकट आइलागेको छ । २८ वर्षदेखि नेपाली कांग्रेसमा क्रियाशिल मेचीनगरकी अग्रणी महिला नेतृ एवम् अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी संगीता कार्की राउतले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाली कांग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा गरेको घोषणा गरेकी हुन् । २०४६ साल अघिदेखि नेपाल बिद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसको झापा क्षेत्र नं. १ को क्षेत्रीय कोषाध्यक्ष, नेपाल महिला संघ झापा क्षेत्र नं. १ को सहसचिव र मेचीनगर वडा नं. ४ मा संघको वडा सभापतिको जिम्मेवारी सम्हालिसकेकी उनी नेपाली कांग्रेसको भ्रातृ संस्थाको रुपमा रहेको नेपाल लोकतान्त्रिक खेलकुद महासंघ झापाको जिल्ला कार्य समिति सदस्य हुन् ।
नेपालको महिला फुटबल क्षेत्रको नक्षत्रको रुपमा चिनिएकी राउत अखिल नेपाल फुटबल संघको महिला समितिको केन्द्रीय सदस्य र महिला फुटबल प्रशिक्षक रही नेपाली महिला फुटबलको विकासमा लाग्ने प्रतिभाशाली व्यक्तित्व हुन् । विज्ञप्तिमा महिला नेतृ संगीता कार्की राउतले भनिन्–‘सचेत नागरिकको रुपमा म नेपाली कांग्रेसका बेथिति र बिकृतिहरुको साक्षी किनारा बसिरहन नहुने निचोडमा पुगेकी छु, तसर्थ आजैका मितिदेखि म नेपाली कांग्रेसको साधारण सदस्यता समेतबाट राजीनामा गरेको घोषणा गर्दछु ।’
नेपाली कांग्रेस निरन्तर राजनीतिक आदर्श, मूल्य र आदर्शहरुबाट बिमुख हुँदै व्यक्तिगत स्वार्थसिद्ध गर्न चाहनेहरुको झुण्डमा पतन हुँदै गएको दावी गर्दै उनले विज्ञप्तिमा भनेकी छन् –‘पार्टीमा निष्ठापूर्वक खट्ने कार्यकर्ताहरुलाई दाससरह व्यवहार गरिन्छ भने पैसा र पावर भएकाहरु पार्टीभित्र हावी भइरहेका छन् ।’
राम्रोलाई भन्दा हाम्रोलाई प्रोत्साहित गर्ने परिपाटी हुर्किरहेको र त्यागी एवम् प्रतिबद्ध तल्लो वर्गका कार्यकर्ताहरुलाई पाखा लगाउने तमासाले कांग्रेसबाट इमान्दार, पुराना र सिद्धान्तप्रति निष्ठावान कार्यकर्ताहरुको पंक्ति पलायन हुने अवस्था सिर्जना भएको भनको भनाई छ ।
यस्तै, नेता नरेन्द्र खड्का नेपाली कांग्रेस लोकतन्त्र, राष्ट्रियता र समाजबादको सिद्धान्तबाट स्खलित भएकाले आफुले काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए । खड्काले बिज्ञप्ती मार्फत बिकृती, बिसंगती र बेथितीको आहालमा नेपाली कांग्रेस डुबिरहेको आरोप लगाएका छन् । त्यस्तो अवस्थामा आफुलाई पार्टीमा बसिरहन ईच्छा नभएकाले कांग्रेस पार्टीको सबै जिम्मेवारीबाट राजीनामा गरेको बुधबार सार्वजनिक गरेका थिए । खड्का कांग्रेसको युवा संगठन नेपाल तरुण दलको जिल्ला सभापति, नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को उपसभापति समेत जिम्मेवारी सम्हाली सकेका नेता हुन् ।
मेची उद्योग वाणिज्य संघ मेचीनगरको पुर्व अध्यक्ष समेत रहेका खड्काले आगामी दिनमा स्वतन्त्र नागरिकको रुपमा राष्ट्रको सेवामा लाग्ने बिज्ञप्तीमा उल्लेख गरेका छन् ।
त्यसै पनि स्थानीय तहको निर्वाचनमा प्राप्त भएको मतलाई आधार मान्ने हो भने बामगठवन्धन १७ हजार ४२ मतले अगाडि छ । वामको ३९३२३,लोकतान्त्रिकको २२२८१ रहेको छ ।