Kanakai Online

झापा २ मा बामको तीव्र प्रचार


आइतवार, कार्तिक २६, २०७४ |

कनकाई अनलाईन 
बिर्तामोड २६ कार्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका लागि राष्ट्रवादी वाम गठबन्धनका उम्मेद्वारहरुले झापामा चुनाव प्रचारप्रसारलाई तिव्रता दिएका छन् । यसैक्रममा क्षेत्र नम्बर २ अन्र्तगत बिर्तामोडको वडा नम्बर ७ मा चुनावी घरदैलो अभियान सुचारु छ । यसै क्रममा प्रतिनिधिसभाका उम्मेद्वार पवित्रा निरौला खरेल र प्रदेशसभा क का उम्मेद्वा्र एकराज कार्कीले शनिवार स्थानीय मजदूर र किसानलाई भेटेर उनीहरुका समस्या बुझेर आगामी दिनमा गरिने विकासका प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सो क्रममा स्थानीयले अघिल्लो पटक नेपाली काँग्रेसका उम्मेद्वारलाई जिताएको तर, जितेर गएपछि फर्केर पनि नआएको आरोप लगाएका थिए । उनीहरुले यसपटक स्थानीय नेता भएका कारण र धेरै समयपछि प्रतिक्षा गरेको नेताले टिकट पाएकोले यस पटक संयुक्त वामगठवन्धनका उम्मेद्वारलाई भोट दिने आश्वासन दिएका थिए ।
झापा क्षेत्र नम्बर २ स्थित अर्जुनधारा नगरपालिकाको वडा नम्बर ११, १ र बुद्धशान्ति १, २ र ३ नं. वडामा शनिवार वडा चुनाव प्रचारप्रसारको संयुक्त कार्यालय उद्घाटन गरिएको छ । प्रदेशसभा ‘ख’ उम्मेद्वार विर्ख प्रधान र प्रतिनिधिसभाकी उम्मेद्वार धर्मशिला चापागाईले कार्यालयको उद्घाटन गरेका थिए । त्यसैगरी अर्जुनधारा ५ मा चुनाव प्रचारप्रसारका लागि एकसय ५५ सदस्य वडा समिति गठन गरिएको र अर्जुनधारा ९ मा युवराज प्रसाईको अध्यक्षतामा दुईसय एक जना चुनाव प्रचारप्रसार समिति गठन गरेको बताइएको छ । कार्यक्रममा प्रदेशको समानुपातिक उम्मेद्वार रोशन कन्दङवा, नेकपा एमाले केन्द्रीय सदस्य भास्कर काफ्ले, राप्रपाका स्थानीय नेता सूर्य खतिवाडा लगायतले बोलेका थिए ।
झापा क्षेत्र नम्बर ३ मा वारदशीका विभिन्न स्थानमा चुनावी सभा तथा कार्यक्रमहरुमा सम्मपन्न भएको छ । क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र लिङ्देनसहितको टोलीले घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो । मतदाताको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रममा एमाले, माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुले साझा उम्मेद्बार लिङ्देनलाई विजयी गराउन प्रण गरेका थिए । सो अवसरमा उम्मेद्बार लिङ्देन, प्रदेश सभाका उमेद्वार पुर्णसिंह राजवंशी, एमाले जिल्ला सदस्य ओमनारायण राजवंशी, पदम थापा,माओवादी केन्द्रका तोयानाथ पोख्रेल लगायतले आआफ्नो प्रतिवद्धता प्रस्तुत गरेका थिए ।