कनकाई अनलाईँन
मेचीनगर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएका वाम गठबन्धनका उम्मेद्वारले झापा क्षेत्र नम्बर १ मा चुनावी प्रचारलाई तिब्रता दिएका छन् ।
बुधबारदेखि १ नम्बर क्षेत्रका विभिन्न गाउँ–टोलमा चुनावी अभियानलाई अघि बढाइएको छ । चुनावी अभियान अन्तर्गत बुधबार बिहान काँकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा १ नम्बर क्षेत्रका उम्मेद्वारले आ–आफ्नो प्रतिबद्धता ब्यक्त गरेका छन् । १ नम्बर क्षेत्रमा वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेद्वारमा राम कार्की छन् । उनी नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री समेत हुन् । वाम एकताका सुत्रधारको रुपमा रहेका कार्की वामविश्लेषक पनि हुन् ।
पत्रकार सम्मेलनमा कार्कीले राष्ट्रियताका विरुद्ध अभिव्यक्ति दिने कसैलाई छुट नभएको बताए । उनले आफूलाई टुरिस्ट नेता भनेर अनर्गल प्रचार गरेकोप्रति भने–‘खोला वारी र खोला पारी जन्मिएको भनिरहेका छन् ।
मेची खोला कहाँबाट बगिरहेको छ ?’
उनले शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा विकास गर्न आफू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । पत्रकार सम्मेलनमा १ नम्बर क्षेत्रका प्रदेशसभा उम्मेद्वार श्रीप्रसाद मैनाली र गोपाल बुढाथोकीले जनताको पक्षमा निष्ठापूर्वक लागिरहने बताए ।
संयुक्त प्रचारप्रसार चुनाव परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे ।
प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन पत्रकार सचिन सुब्बा र स्वागत प्रेस सेन्टर झापाका अध्यक्ष टीकाराम उप्रेतीले गरेका थिए ।