कनकाईँ अनलाईँन
विर्तामोड कार्तिक २२ गते । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले परिवर्तनका पक्षधरहरु पुरातनवादीको पछाडि लाग्नु नहुने बताउनुभएको छ ।
चुनावी अभियान अन्र्तगत बाह्रदशी गाउँपालिका ४ मा आयोजित कार्यक्रममा सिटौलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादीले उम्मेद्वारी नदिएपछि परिवर्तनको पक्षधर नेपाली काँग्रेस मात्र मैदानमा रहेकाले पुरातनवादीको पछाडि नलाग्न मतदातालाई आग्रह गर्नुभएको हो ।
२००६ सालदेखि काँग्रेस कम्युनिष्ट मिलेर परिवर्तनको लडाई गरिरहेको भन्दै सिटौलाले पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्नेहरु तथा साही शासनमा जनदमन गरी एकतन्त्रीय सर्वसत्तावाद लाद्न तम्सनेहरुलाई मतदान गर्नु नहुने सिटौलाको आग्रह थियो । उहाँले लोकतन्त्रको स्थायित्वका लागि गठबन्धन गरेका एमाले माओवादीले झापा क्षेत्र नम्वर ३ मा उम्मेद्वार नदिएकाले मतदाताले प्रगतिशील लोकतन्त्रको पक्षधर नेपाली काँग्रेसलाई मतदान गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार भगिरथ पोद्धारले लोकतन्त्रको लडाइमा निरन्तर पहरेदार भएर लागेको नेपाली काँग्रेस आजको आवश्यकता रहेको बताउनुभयो । समाजवादी नीति मार्फत देश र जनताको मुहार फेर्न आफू प्रदेश सभाका लागि जनतासित अनुमोदन हुन आएको भन्दै पोद्धारले मतदान गर्न आग्रह गर्नुभयो ।
साविक चकचकी २ मा भएको अन्र्तक्रियामा सहभागीहरुले स्थानीय स्तरमा समाधान हुन नसक्ने सडक, पुल, खानेपानी लगायका पूर्वाधारको अभाव रहेको दर्शाएका थिए भने प्रतिउत्तरमा सिटौला र पोद्धारले जनताका समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।