कनकाई अनलाईन
झापाको सदरमुकाममा रहेको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको सम्पन्न निर्वाचनको मत परिणाम अनुसार नेकपा एमाले राप्रपा समूहको बहुमत प्राप्त भएको छ ।
३ हजार २ सय ८१ सदस्य रहेको समितिमा २ हजार ८ सय ४ जना मतदाता निर्वाचनमा भाग लिन योग्य रहेकोमा १ हजार ८ सय ६८ मत खसेको थियो । जसमा एमालेका तर्फबाट उम्मेदवारी दिएका पुरुषोतम अधिकारीले १ हजार ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ऋषि चापागाईले ७ सय ७३ मत मात्र प्राप्त गर्नुभयो ।
पाँचौ कार्य समितिका लागि उपाध्यक्षमा नेपाली काँग्रेस माओवादी समूहकी रेखा अधिकारीले ८ सय ९३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका निरोज पोखरेलले ८ सय ८२ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा एमाले समूहका बाबुराम कार्कीले १ हजार १ सय ५९ मत प्राप्त गर्दै विजयी हुनुभयो भने सहसचिवमा एमालेसमूहकै टंककुमारी पोखरेल र कोषाध्यक्षमा राजन आचार्य निर्वाचित हुनुभएको निर्वाचन परिचालन समिति संयोजक गोपाल आचार्यले जानकारी दिनुभयो ।
३ वर्षे कार्यकालका लागि ११ सदस्यीय समितिको सदस्यहरुमा काँग्रेस समूहबाट सन्तोष घिमिरे र राजेश निरौला विजयी हुनुभयो भने एमाले समूहका तेजप्रसाद चापागाई, अम्बिका मैनाली, गंगा घिमिरे र झुमा दाहाल विजयी हुनुभएको छ । गठबन्धनमा सामेल भए पनि माओवादी र राप्रपाले कुनै पनि सिट हात पार्न सकेन भने एमाले पहिलो र काँग्रेस दोश्रो स्थान सुरक्षित गर्न सफल भएको हो ।