चिरन घिमिरे ।
लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा झापाका पाँच पत्रकार पनि चुनावी मैदानमा उत्रिएका थिए। विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका पाँच पत्रकारमध्ये एकजनालाई सफलता हात पर्योा भने चारजना असफल भए।
असफल भएका पत्रकारहरु केहीले पत्रकारिताबाट बिदा लिने घोषणा गरे भने केहीले अब पत्रकारिताकै माध्यमबाट देश र जनताको सेवा गर्ने भन्दै फेरि पत्रकारितामै फर्किकएका छन्।
झापाका पाँचजना पत्रकारहरुमा राप्रपाबाट विर्तामोड नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी लीला अनमोल, बिर्तामोडकै वडा नम्बर ५ का वडाअध्यक्षका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका विरु दर्नाल र भद्रपुर वडा नम्बर ४ मा एमालेबाट महिला सदस्यकी उम्मेदवार गंगा बराल तथा मेचीनगर १५ वार्डअध्यक्षबाट उम्मेद्धारी दिएका चेतन विष्ट ,पत्रकारहरु असफल भए भने दमक नगरपालिका वडा नम्बर ९ मा एमालेबाट दलित महिला सदस्यकी उम्मेदवार बनेकी मीना विश्वकर्मा विजयी भइन्।
पराजित भएकी पत्रकार लीला अनमोलले अब आफू पत्रकारितामै फर्कने बताइन्। उनले भनिन्, ‘म अब फेरि पत्रकारिताकै माध्यमबाट देश र जनताको सेवा गर्नेछु, पत्रकारिता नै मेरो पहिलो प्राथमिकता हो।’ उनले आफूले हार व्यहोरे पनि निराश नभएका बताएकी छन्।
उनले भनिन्, ‘मैले हारे पनि धेरै कुरा सिकेको छु, जनतको घर घरमा पुगेको छु, पत्रकारिता गरि रहे पनि अप्रत्यक्ष रुपमा भने राजनीति गर्नेनै छु।’ उनले जनताहरु अहिले पनि राम्रा होइन हाम्रा मात्रै रोजि रहेको बताइन्। उनले भनिन्, ‘जनताले चुनाव आउने बेलामा हाम्रालाई होइन राम्रालाई हेर्ने भन्छन्, तर भोट हाल्ने बेलामा त्यस्तो नहुँदो रहेछ, हाम्रालाई नै हेर्दा रहेछन्।’
चुनावी मैदानमा असफल भएका वडाअध्यक्षका उम्मेदवार विरु दर्नाल अब पत्रकारितामा नफर्कने बताउँछन्। ‘मलाई अब राजनीतिक दलको ट्याग लागिसक्यो, अब म पत्रकारितामा फर्कन सान्दर्भिक हुँदैन’ उनी भन्छन्, ‘मैले नेपाल पत्रकार महासंघको समेत साधारण सदस्य पनि त्यागि सकेको छु, त्यसकारण अब म पत्रकारितामा फर्कनन्, तर स्वतन्त्र रुपले विचारहरु चाहिँ लेखिरहन्छु।’उनी अब राजनीतिमै लाग्ने बताउँछन्, ‘मैले चुनाव हारे पनि धेरै कुरा सिकेको छु, त्यसकारण म अब राजनीतिबाटनै स्थापित हुन चहान्छु।’
यता, वडा सदस्यमा पराजित गंगा बराल भने अब पत्रकारितामानै फर्कने बताउँछिन्। उनी भन्छिन्, ‘अब म फेरि पत्रकारितामै फर्कन्छु, तर पत्रकारितामा आफ्ना राजनीतिक विचारलाई भने लाद्ने काम गर्दिनँ।’ उनले सबै पत्रकारमा राजनीतिक आस्था हुने भन्दै समाचारमा त्यो आस्था लागाउन नहुने बताइन्। उनले भनिन्, ‘सबै पत्रकारमा दलको आस्था छ, तर म पार्टीबाट उम्मेदवार बनें तर अब पत्रकारितामा फर्कंदा समाचार लेख्ने बेला राजनीतिक विचारलाई परै राख्छु।’
के छन् जित हासिल गर्ने विश्वकर्माका योजना
दमक ९ मा दलित महिला सदस्यमा जित हासिल गर्ने मीना विश्वकर्माले जनतामाझ भोट माग्दा गरेका प्रतिबद्धता पूरा गर्ने बताएकी छन्।
उनले सर्वप्रथम समाजमा रहेको जातीय विभेद अन्त्य गर्न लागि पर्ने बताइन्। उनले भनिन्, ‘म भोट माग्न जनताका घरमा जाँदा गरेका प्रतिबद्धता पूरा गर्छु, दमक नगरपालिकालाई नै नसके पनि मेरो वडालाई छुवाछुतमुक्त वडा घोषणा गर्ने प्रतिबद्धता जनाउँछु।’
उनले दमक ९ लाई समृद्ध बनाउँनेमा आफू लागि पर्ने बताइन्। उनले दमकलाई समृद्ध बनाउन अब कुनै दल विशेषको मात्र काम नगर्ने बताइन्। उनले भनिन्, ‘हामी उम्मेदवार बन्दा मात्र दलका उम्मेदवार बनेका हौं अब भने निष्पक्ष ढंगबाट काम गर्छौं।’
उनले कानुनले मिलेसम्म पत्रकारिता गरिरख्ने बताइन्। उनले भनिन्, ‘कानुनभन्दा माथि कोही छैन, कानुनमा मिल्नेसम्म म पत्रकारिता गरिरहन्छु, जनताको सेवा गरेर बचेको समय पत्रकारितामा लगाउँछु।’
पराजित मध्ये गंगा बराल १५ भोट र चेतन विष्ट ४ भोट अन्तरले पराजित बनेका हुन । चिरञ्जिबी घिमिरे थाहाखबरका झापा संवाददाता हुन्।