कनकाई अनलाईन ।
झापाको बिर्तामोड निवासी उद्योगपति प्रदिप मित्तलले पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
शनिबार पत्रकार महासंघ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति प्रदिप तथा उनका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गरे ।
आफ्नी माता स्व. सरमनदेवी मित्तलको स्मृतिमा प्रदिप–रेणु मित्तलले विवाहको २५औं वर्ष गाँठको अवसर पारी उक्त रकम हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ झापा एक करोड रुपैयाँको कोष स्थापना गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै मित्तलले प्रशंसा गरे ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघ झापाका कार्यसमिति सदस्य लक्ष्मी काफ्लले बताए ।
कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै ननासिने र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए । हालसम्म कोषमा २३ लाख भन्दा बढी रुपैयाँ जुटिसकेको महासंघ झापाका कार्यवाहक अध्यक्ष गिरीले बताए । तस्वीरः विनोद पाण्डे(कमल)