Kanakai Online

प्यारागनका विद्यार्थीले गरे ट्राफिक सचेतना कार्यक्रम


बिहिवार, असार ८, २०७४ |

 
कनकाई अनलाईन ।
प्यारागन एकाडेमी अंग्रेजी मावि सुरुङ्गामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सडक दुर्घटना न्युनिकरणका लागि चेतना जगाउँने उद्येश्यले विद्यालयमा गठन भएको प्यारागन स्टुडेन्ट काउन्सिलले आयोजना गरेको सचेतना सम्वन्धिको औपचारिक कार्यक्रम अघि विद्यार्थीहरुले चेतनामूलक विभिन्न प्लेकार्ड लिएर सुरुङ्गा वजार परिक्रमा गरेका थिए ।
हरेक दिन सडक दुर्घनामा परी धेरै वालवालिकाहरुले अकालमै ज्यान गुमाउँनु परेकाले विद्यालयकै वालवालिका त्यसको सिकार हुने हुँदा सचेतना जगाउँन आवश्यक ठानेर सम्वन्धित निकायको ध्यान आकर्षण गर्नका लागि समेत कार्यक्रमको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल डिआर सुवेदीले वताएका छन् ।
कार्यक्रमकै अवसरमा विद्यालयका विद्यार्थीहरुले चेतनामूलक नाटक समेत प्रस्तुत गरेका थिए ।
व्रिटिस काउन्सिल अन्तर्गतको इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गरीसकेको प्यारागन एकाडेमीले विद्यालयमा ब्रिटिस काउन्सिलद्वारा संचालित सामाजिक परीयोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको परीयोजनाका सहजकर्ता सिएम निरौलाले वताएका छन् ।
विद्यार्थीहरुलाई विद्यालयको पढाइमा मात्र सिमित नराखी वालवालिकाहरुको सिप तथा क्षमता अभिवृद्घि गर्दै सामाजिक क्षेत्रमा समेत क्रियाशिल वनाउँने उद्येश्यका साथ योजना वनाएर विद्यालय अघि वढेको वताइएको छ ।
स्टुडेन्ट काउन्सिलकी अध्यक्ष सिन्धु राईको अध्यक्षता एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा वोल्दै ट्राफिक प्रमुख गिरीले विद्यालयका वालवालिकाहरुवाट प्रदर्शन भएको चेतनामूलक नाटक र सचेतना कार्यक्रमले ट्राफिकलाई समेत सचेत गराएको भन्दै कार्यक्रमको प्रशंसा गरेका छन् ।
काउन्सिलका सदस्य विप्लव गौतमको स्वागत तथा सदस्यद्वय समन्वय निरौला र रिचा गिरीले संचालन गरेको कार्यक्रममा विद्यालयकी संस्थापक चम्पा सुवेदी, सुरुङ्गा जेसीजका अध्यक्ष जविन तिम्सिना,अभिभावक लिलाप्रसाद चिमरीया लगायतको मन्तव्य रहेको विद्यालयका इञ्चार्ज गुरुप्रसाद पौडेलले वताएका छन् ।