कनकाई संवाददाता
। नेपाली काङ्ग्रेस मेचीनगरको विभिन्न वडाहरुमा शनिवार भएको प्रचार प्रसार कार्यक्रमको क्रममा ५८ जनाले विभिन्न पार्टी परित्याग गरी काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काङ्गे्रसका नगर प्रमुख तथा उप प्रमुखका उम्मेद्वारहरुले नगरका बिभिन्न वडाहरुमा घरदैलो तथा कोण सभाको कार्यक्रम गर्ने क्रममा मेचीनगर –१४ स्थित दुवागढीको हाट खोला, मेचीनगर –६ स्थित शान्ती टोल, मेचीनगर –५ स्थित नकलबन्दा बजार र मेचीनगर –९ स्थित मागुरमाडीको हरि आधारभूत विध्यालयमा विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्गे्रसमा प्रवेश गरेका हुन ।
पाटी प्रवेश गर्ने क्रममा हाट खोलामा परेश राजबशी सहित ६ जना, शान्ती टोलमा लिलावती विश्वकर्मा सहित ४ जना, नकलबन्दा बजारमा राम बहादूर खामसुहाङ्ग सहित ४५ जना र मागुरमाडीमा फौद सिंह मगराती सहित ३ जनालाई टिका, टोपी तथा पार्टीको सदस्य पत्र प्रदान गरिएको थियो ।
नेपाली काङ्गे्रस पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार बिमल आचार्य र उप प्रमुख पदका उम्मेदवार दुर्गा खतिवडाले मेचीनगर –१४ स्थित हाट खोला, मेचीनगर –६ स्थित शान्ती टोल, मेचीनगर –७ स्थित सतिघट्टा चिया बगान, मेचीनगर –१५ स्थित सिदाई बस्ती र पान बस्ती, मेचीनगर– ५ स्थित नकलबन्दा बजार, मेचनिगर –४ स्थित भोर्लेनी, मेचीनगर– ९ स्थित मागुरमाडी र मेचीनगर –११ भानु निमावि बासबारीमा भएको घरदैलो तथा कोण सभालाई सम्बोधन गर्दै नगरको बिकास र सम्बृद्धिका लागि सक्दो भूमिका खेल्ने बताएका थिए ।