Kanakai Online

सबृद्ध भद्रपुर नगर बनाउँका लागि मेरो मेयरमा उम्मेद्धारी / शिवकुमार राजभण्डारी


आइतवार, जेठ २१, २०७४ |

वि सं २०२५ मंसिरमा साविक भद्रपुर १२ मा जन्मिएका शिवकुमार राजभण्डारी राजनीति र शिक्षण दुवै संगसंगै अगाडि बढाएका एक कुशल व्यक्ति मानिन्छन् ।
तीस वर्ष शिक्षण पेशा गरेर भर्खरै स्वच्छिक अवकास लिएका राजभण्डारीले आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाट भद्रपुर नगरपालिकाको प्रमुख पद मेयरमा उम्मेदवारी पाएका छन् ।
२०३६ सालको जनमत संग्रहपछिको झापाली राजनीतिक माहौलले कम्युनिष्ट बन्न आर्कषित भएका राजभण्डारी वि सं २०५८ सालबाट माओवादी पार्टीमा सक्रिय भएर लागेका उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाका अध्यक्ष समेत हुन् । झापा जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगर नेपालकै पुरानो नगर हो ।

यस नगरमा रुपान्तरण तथा विकासको जागरण अभियान सञ्चालन गर्न नयाँ संरचनापछिको पहिलो स्थानीय निर्वाचनमा मेयरको दावेदारी गरिरहेका राजभण्डारीसित द्रोण अधिकारीले गरेको कुराकानीको केही अंश ।

तपाइको उम्मेदवारी किन ?
राज्य संरचनामा आएको आमूल परिवर्तनलाई जन स्तरसम्म पुर्याउन र मृत स्वरुपमा सुसुप्त रहेको भद्रपुर नगरलाई सम्बृद्ध बनाउनका लागि मेरो उम्मेदवारी आएको हो ।
जनताले तपाईलाई  पत्याउलान् ?
अवश्यै पत्याउने छन् किनकी म  परिवर्तनको लडाँइमा तीन दशक यता सक्रिय रुपमा लागि रहेको छु । पेशाको रुपमा शिक्षक भए पनि जनताका अधिकार र चाहनामा विचलित भएको छैन ।

समाज सेवाको एउटा पाटो शिक्षण थियो भने विभिन्न ३० वटा भन्दा बढी सामाजिक संघ संस्थामा रहेर पनि भद्रपुरका जनताको चेतना विस्तार र अधिकारका लागि निरन्तर काम गरेको हुँदा भद्रपुरका बासिन्दाले पत्याउने विश्वास छ ।
सम्बृद्ध भद्रपुरको आधार के हो ?
सम्बृद्ध भद्रपुरको आधार भनेकै पर्यटनको विकास, व्यापारीकरणको विस्तार र कृषिको उन्नति हो जहाँ मैले भद्रपुर नगरको नेतृत्व पाउने हो भने ती योजना कार्यान्वयनमा आउने छन् ।
नगरमा पर्यटन आगमनलाई आर्थिक उन्नतिमा जोड्न उत्तरमा चन्द्रगढ तथा चन्द्रगढी सिमसार क्षेत्र छन् भने दक्षिणमा किच्चकबध तथा कमलधाप क्षेत्र छन् । यी क्षेत्रमा बृहद योजना र जिम्मेवारीपूर्ण नेतृत्व गरेर सुनसान शहर भद्रपुरलाई जीवन दिन सक्ने क्षमता ममा छ । यसैगरी भद्रप्ुरको व्यापारिक शाख माथि उठाउन मेचीपुल र मेची राजमार्ग एवम् हुलाकी सडकको निर्माण प्रमुख रुपमा रहेको छ । जसलाई निर्माण सम्पन्न गराउनका लागि मेरो खवरदारी रहने छ ।

यस नगरका गरिब, मजदुर तथा सिमान्तकृत वर्गको जीवनस्तर उकास्न कृषिको उन्नति र व्यावसायिकीकरण हो । जसका लागि आफू प्रतिबद्ध भएर लाग्ने छु ।
नागरबासीको जीवनस्तर उकास्ने योजना के के छन् ?
ऐतिहासिक नगर भद्रपुरका बासिन्दाहरुको आर्थिक स्तर उकास्न रोजगारीका लागि अवसरहरु कृषि, व्यापार र उद्योग प्रर्वधन जरुरी छ । यहाँ अवर धेरै छन् । ती अवरको सदुपयोगको वातावरण बनाउने नेतृत्व मबाट मात्र संभव छ ।
यस नगरका गरिब, सर्वहारा सुकुमम्बासीको संरक्षणका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने छु । सदरमुकामको एक मात्र सरकारी अस्पताल मेची अञ्चल अस्पतालको स्तरबृद्धिलाई निरन्तर अगाडि बढाएर गरिबीबाट पीँडितको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा राखेको छु ।

तपाईको उम्मेदवारी के का लागि ?
मेरो उम्मेदवारी सिंहदरवारको अधिकार जनताको घरघरमा पुर्याउन हो । यस नगरपालिकामा निर्वाचन जित्ने त धेरै आए गए तर जनपक्षीय कार्य गर्ने कोही देखिएन ।
सडक नाम मात्रका बनाइए जसले जनतालाई आर्थिक उन्नति दिन सकेको छैन । समग्र नगरको विकासका लागि बाटाघाटादेखि पुल पुलेसासम्मको स्तर बृद्धि जरुरी छ ।
यी र यस्ताखाले दैनिक जीवनयापनका समस्याको हलदेखि प्रविधि मैत्री वातावरण निर्माणसम्मका कामहरु पूरा गर्न मेरो उम्मेदवारी आएको हो । सम्बृद्ध शहर भद्रपुर हुनका लागि स्मार्ट नगर बनाउने अभियान पूरा गर्ने छु ।