कनकाई संवाददाता ।
झापा बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार रुपैयाँ प्रदान गरेका छन् ।
समाजसेवी कन्दङ्वाले आज मंगलबार उक्त रकम महासंघका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवं पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे ।
कन्दङ्वाले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासंघले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
बिर्तामोड चौकमा अचानक भएको भेटमा महासंघका अध्यक्ष सापकोटा र उपाध्यक्ष गिरीले पत्रकार उपचार कोषको औचित्य र अभियानबारे जानकारी गराउदै गर्दा कन्दङ्वाले ‘यो अत्यन्त पवित्र सेवा कर्म थाल्नु भएछ,मेरो तर्फबाट कोषको लागि अहिले नै लानूस् यो रकम’भनेर त्यति नै बेला ५२००० रुपैयाँ दिएका थिए । कन्दङ्वाले मुलुक परिवर्तन र नागरिकलाई सूसुचित गर्ने कार्यमा अहोरात्र खटिने झापाली पत्रकारको हितमा स्थापित कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरेका छन् ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ ।
कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको कोषका सदस्य सचिव केशव भट्टराईले जानकारी दिए ।
कोषमा दाताहरुको नाम आजीवन रहनुका साथै प्रदान भएको रकम कहिल्यै नासिने छैन र त्यसको व्याजबाट मात्र पत्रकारको उपचारमा सहयोग गरिने बताइएको छ ।