कनकाई अनलाईन
झापा जिल्ला अन्तर पालिका कर्मचारी फुटबल प्रतियोगिता को उपाधि आयोजक कनकाई नगरपालिकाले उचालेको छ । यस अघिको उपाधि समेत जितेको कनकाईले जितको निरन्ततालाई कायम राख्दै दोस्रो पटकपनि उपाधि रक्षा गरेको हो । उपाधिसगै कनकाईले नगद १ लाख रुपैँया र शिल्ड हात पारेको छ ।
झापाको कनकाई नगरपालिका–३ सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा कार्तिक १३ गतेदेखि सञ्चालित प्रतियोगिताको कार्तिक १८ बुधबार भएको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै कनकाईले उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएको हो। दोस्रो बनेको शिवसताक्षीले भने नगद ७५ हजार र शील्ड हात पारेको छ ।
खेलको सुरुवातमै कनकाई नगरपालिकाका खेलाडी विशाल थेबेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० गोलको सामान्य अग्रता बनाएको कनकाईले दोस्रो हाफमा भने शिवसताक्षीमाथि पूर्ण रूपमा दबाब कायम राख्यो। दोस्रो हाफमा कनकाईका लागि अंकित राईले दुई र पहिलो हाफमा गोल गरेका विशाल थेबेले थप एक गोल गरेपछि टिमले चार गोलको अग्रता लियो। शिवसताक्षीका तर्फबाट खेलको दोस्रो हाफमा सचिन श्रेष्ठले एक सान्त्वना गोल फर्काए पनि हार टार्न भने सकेनन्।
यसैगरी, फाइनल खेलको म्यान अफ दि म्याच कनकाईका दुई गोल गोलकर्ता विशाल थेबे घोषित भए , उनलाई ट्रफी सहित कनकाईका कृषि शाखा प्रमुख तेज बहादुर पौडेलद्वारा नगद १ हजार, प्रदान गरियो । प्रतियोगितामा रुचन लिम्बु हाइ स्कोरर तथा टुर्नामेन्टको उत्कृष्ट खेलाडी घोषित हुँदा कनकाईकै लक्ष्मण भुजेल उत्कृष्ट डिफेन्डर, ज्ञानेन्द्र निरौला उत्कृष्ट गोलकिपर र लिलु गिरी उत्कृष्ट कोच घोषित भए। त्यस्तै, शिवसताक्षी नगरपालिकाका श्रवण मल्लिक उत्कृष्ट मिडफिल्डर घोषित हुन सफल भए। विधागत उत्कृष्ट सबैलाई ट्रफी प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल बिशिस्ट अतिथिहरु शिवसताक्षी नगरपालिकाका नगर प्रमुख रोशन थोप्रा , कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवकोटी, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, प्रतियोगिता आयोजक समिति संयोजक क्षेत्रनाथ शर्मा लगायत दुवै पालिकाका विभिन्न वडाका वडाध्यक्षहरू पुरस्कार वितरण गर्नुभएको थियो ।
जिल्लाभरका विभिन्न पालिकाका कर्मचारीहरूबीच आपसी सद्भाव, मेलमिलाप र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय तहको स्थापना कालदेखि नै निरन्तर हुँदै आएको यस प्रतियोगिताको आयोजना साविकको विजेता टिमले गर्दै आएको छ ।



