Kanakai Online

झापा गाउँपालिकामा हवाई फायर खोलेर ब्राउन सुगर कारोवारी पक्राउ


बुधवार, कार्तिक १२, २०८३ |

कनकाई अनलाईन
झापामा प्रहरीले दुई राउन्ड हवाई फायर गरी ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
झापा गाउँपालिका–१ सालमारामा आज दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बुधवार दिउँसो १२ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमारा निवासी ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन्।
प्रहरीका अनुसार भारतको कुत्तुवाभिट्टाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर जाँच गर्ने क्रममा सलमान मियाले लगाएको कुर्ताको दाहिने खल्तीमा रहेको साबुनको रातो रङको बट्टाभित्र ब्राउन सुगर फेला परेको थियो।
बरामद पदार्थ प्लास्टिकसहित १६६ ग्राम ३४० मिलिग्राम र प्लास्टिकबाहेक १५० ग्राम १४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरू सवार मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल, बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेको छ।
उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाइएको छ। पक्राउ परेका दुवै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।







सम्बन्धित खबर