
कनकाई अनलाईन
यहाँस्थित कनकाई माविमा अध्यान गर्ने हरेक विद्यार्थीका लागि अब ध्यान र योग अनिवार्य गरिएको छ ।
विद्यालयमा सुरु गरिएको यो महाअभियानको कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले आज विशेष कार्यक्रका विच योग र ध्यानको कक्षाको सुभारम्भ गर्नुभयो ।
विद्यालयको योग तथा ध्यान उपसमितिको आयोजनामा अब विद्यालयमा हरेक दिन विहान ९ बजेदेखि १ घण्टा सुरुमा योग तथा ध्यानको कक्षा सुरु हुने छ । त्यसपछि मात्रै अन्य कक्षाहरु सुरु गरिने विद्यालयका प्रअ कर्णबहादुर डाँगीले बताउँनुभयो ।
यसो गर्दा विद्यार्थीको शारीरिक र मानसिक रुपमा स्वास्थ्य मात्रै नभएर लागुऔषध जस्ता कुलतबाट विद्यार्र्थी जीवनबाटै सजक र सर्तक गर्न मद्यत मिल्ने र यसबाट विद्यार्थीको शिक्षामा समेत मद्धत मिल्ने प्रअ डाँगीको भनाई छ ।
विद्यालयको योग तथा ध्यान कार्यक्रमको सुभारम्भ गर्नुहुदै कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरपालिकाले २ बर्ष पहिलेनै यस क्षेत्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुका २ जना शिक्षकलाई योग प्रशिक्षकको तालिमको आयोजना गरिएको र हाल आएर यसले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । नगरले चाडै योग सम्बन्धि कार्यविधिनै बनाएर सबै स्कुल स्कुलमा अनिवार्य रुपमा लागु गर्ने योजना रहेको बताउँनुभयो । विद्यालयले योग साधनाको माध्यमबाट देश विकासमा योगदान पुर्याइरहेको भन्दै विद्यार्थीका आमाहरुलाई समेत योग शिक्षा दिनका लागि विद्यालयलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा योग प्रशिक्षक ख्याम उप्रेतीले आफुले नगरपालिका क्षेत्रका सबै विद्यालयहरुमा आवश्यक परेको खण्डमा निशुल्क योग साधना शिक्षा दिन तयार रहेको बताउँनुभयो । योग ध्यान भनेको आफुलाई रुपान्तरणको समेत विषय भएको भन्दै योग र ध्यानबाट विद्यार्थीको क्षमता, आचरण र स्वास्थ्यमै व्यापक सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिम्सिनाले विद्यालय सुधारका लागि विद्यालयले आफ्नो योजनापत्रनै तयार पारिसकेकोले सोही अनुरुप योग ध्यानलाई समेत समेटिएको बताउँनुभयो ।
कार्यक्रममा विद्यालयकी शिक्षिका समेत रहनुभएकी योग प्रशिक्षक निर्मला भट्टराईले विद्यार्थीका लागि योग तथा ध्यान साधना प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा, विद्यालयका प्रअ कर्णबहादुर डाँगीले विद्यालयले सञ्चालन गर्न लागेको योग र ध्यान महाअभियानको वारेमा प्रकाश पार्नुभएको थियो भने, योग समिति कनकाईका अध्यक्ष तथा पत्रकार रामप्रसाद निरौला, विद्यालय व्यावस्थापन समितिका सदस्य प्रतिक राजवंशी, विद्यालयका शिक्षक प्रतिनिधि दिलिप खतिवडा लगायातको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन शिक्षक भीमप्रसाद दाहालले गर्नुभएको थियो ।



