
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका–१, प्रजापतिमा भोली असोज २३ गते बिहीवारदेखि ‘कनकाई नगर वडा स्तरीय फुटबल प्रतियोगिता–प्रजापति कप सुरु हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।
प्रजापति सामाजिक क्लबको आयोजनामा प्रजापति सामुदायिक वनको खेलमैदानमा असोज २२ गते बिहीबारदेखि ३० गतेसम्म प्रतियोगिताको सञ्चालन हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष तिलचन रिजालले जानकारी दिनुभयो ।
मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै अध्यक्ष रिजालले बडादसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार विशेषगरी वैदेशिक रोजगारी तथा देशका विभिन्न स्थानमा रोजगारीमा रहेका युवाहरू चाडपर्व मनाउन गाउँ फर्किएको अवसरलाई लक्षित गर्दै फुटबलमार्फत मनोरञ्जन र आपसी भेटघाटको वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा कनकाई नगरपालिकाका ९ वटै वडाका टोली सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन खेल कनकाई नगरपालिका–३ र कनकाई नगरपालिका–४ बीच हुनेछ।
नाइन–साइड ढाँचामा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार एक सय एघार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३१ हजार एक सय एघार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
त्यस्तै, प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको अन्त्यमा उत्कृष्ट गोलकिपर, टप स्कोरर तथा ‘म्यान अफ द टुर्नामेन्ट’लाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
चाडपर्वको अवसरमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीयवासी तथा शुभेच्छुकहरूको सहभागिता र सहयोगको अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगिता अवधिभर खेलमैदानमा उपस्थित भई खेलाडीलाई हौसला प्रदान गर्न सम्पूर्ण खेलप्रेमीलाई आग्रह गरेको छ।




