Kanakai Online

घाईते मोटरसाईकल चालकको ल्वागुनको मृत्यु


मङ्गलवार, असोज १३, २०८३ |

कनकाई अनलाईन
एक साताअघि झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित खतिवडा चोकमा टिपरमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति–३, किनारा बस्तीका २८ वर्षीय विक्रम ल्वागुन रहेका छन् ।
गत असोज ५ गते साँझ ७ः४५ बजे बुद्धशान्ति २ खतिवडा चोकस्थित शनिश्चरे–जयपुर भित्री पक्की सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ आउँदै गरेको मे ७ प ६३४६ नम्बरको १८० सीसी अपाचे मोटरसाइकलले रोकिराखेको को १ क १९४१ नम्बरको टिपरको पछाडी ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ल्वागुनको टाउकोमा चोट लागेको थियो । ठक्करबाट गम्भीर घाइते भएका ल्वागुनको विर्तामोडको विएण्डसी अस्पतालमा उपचारका क्रममा सोमवार विहान १०ः४५ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने १८ वर्षीय रिजन ल्वागुन पनि घाइते भएका थिए । उनको मुख र ढाडमा चोट लागेको थियो । उनको भने सोही अपस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ । टिपर चालक मोरङ धनपाल २ बस्ने ३९ वर्षीय भोला सरदारलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । निमार्णाधिन सडकको अवस्था र चालकको लापर्वाहीका कारण पछिल्लो समयमा झापामा सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको छ ।
फोटो ः मृतक मोटरसाईकल चालक विक्रम ल्वागुन

सम्बन्धित खबर