कनकाई अनलाईन
कनकाई नगरपालिका, सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसको १७औँ क्याम्पस सभा आइतबार आज क्याम्पस सभाहलमा सम्पन्न भएको छ।
सभामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रसाद चुडाल ‘प्रकाश’ले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै २०४७ साल पुस १० गते प्रवीणता प्रमाणपत्र तहबाट सुरु भएको क्याम्पस अहिले स्नातक तहमा मानविकी, सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र संकायमा विभिन्न बिषय र स्नातकोत्तर तहमा एमएड र एमबीएस कार्यक्रम सञ्चालन गर्ने संस्थाका रूपमा विकसित हुँदै विश्वविद्यालयबाट अनुदान आयोग , नेपालबाट क्युएए प्रमाणपत्र प्राप्त पूर्वकै प्रतिष्ठित उच्च शैक्षिक संस्थाको रुपमा रूपान्तरित भइसकेको वताउनु भयो ।
क्याम्पसको ३६ वर्षे यात्रामा थुप्रै आशातीत कामहरू सम्पन्न भएको र क्याम्पसमा हामीले देखेका थुप्रै सपनाहरू साकार पार्न अझै धेरै भूमिका खेल्न आवाश्कता रहेको र थुप्रै चुनौती र अवसरका बीचमा अझ सबल, सक्षम भएर कार्य गर्नुपर्ने कुरामा जोड दिदै
चुडाल आफुले २०८० साल असोज १० गते अध्यक्षको जिम्मेवारी सम्हाले यता २०८३ साल असोज ११ गतेसम्म आउँदै गर्दा सीमित स्रोत साधन र आर्थिक प्रभावको कारणबाट पनि थुप्रै आशातीत कामहरू गर्न नसकिएको व्यहोरा सभामा अवगत गराउनु भयो । यद्यपि विभिन्न परिस्थितिका बाधहरू झेल्दै उपलब्ध स्रोत र साधनको उपयोग गर्दै क्याम्पसलाई आफ्नो उद्देश्य प्राप्तिका लागि उत्कृष्ट ढङ्गले सञ्चालन गरिरहेको पनि उहाले सभासमक्ष जानकारी गराउनु भयो ।
आगामी वर्ष क्याम्पस स्थापना दिवसका अवसरमा वरिष्ठ संरक्षक तथा चन्दादाता बुद्धदेव घिमिरे र कुसुम घिमिरेको सालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको प्रतिवेदनमा जानकारी दिइएको छ ।
तेस्तै क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले क्याम्पसको भावि योजना सहितको शैक्षिक, प्रशासनिक र आर्थिक प्रतिवेदन सभामा पेश गर्नुभएको थियो । क्याम्पस प्रमुख उप्रेतीको प्रतिवेदनमा शैक्षिक गुणस्तर, आर्थिक पारदर्शिता, नियमित आन्तरिक परीक्षा, छात्रवृत्ति, अनुसन्धान, शिक्षक तालिम, अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीमैत्री सेवा विस्तारलाई प्राथमिकता दिइएको उल्लेख छ। विद्यार्थी स्वास्थ्य कक्ष, छात्रा आराम कक्ष, परीक्षालयलगायत संरचना निर्माण तथा सुरक्षा व्यवस्थासमेत सुधार गरिएको छ। क्याम्पसमा २८ शिक्षक, ६ प्रशासनिक, ४ प्राविधिक र ४ कार्यालय सहयोगीसहित जनशक्ति कार्यरत रहेको तथा विभिन्न १४ समिति तथा उपसमितिमार्फत शैक्षिक, प्रशासनिक, अनुसन्धान, परीक्षा, पुस्तकालय र गुणस्तर व्यवस्थापनका काम अघि बढाइएको जनाइएको छ।
आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२÷८३ मा क्याम्पसको कुल आम्दानी ४ करोड २४ लाख ५५ हजार ७ सय ९९ रुपैयाँ र कुल खर्च ४ करोड ४२ लाख ५१ हजार ४ सय ८६ रुपैयाँ ७४ पैसा रहेको छ। आगामी वर्ष कम्प्युटर ल्याब निर्माण, स्मार्ट बोर्ड थप, कक्षाकोठामा सीसी क्यामेरा तथा आवश्यकताअनुसार एसी जडान, कम्प्युटर तथा अन्य शैक्षिक उपकरण खरिद र भौतिक संरचना मर्मतसम्भार गर्ने योजना प्रस्तुत गरिएको छ।
तेस्तै क्याम्पसलाई गुणस्तरीय बनाउन प्रत्येक तरलतामा ३ पटक आन्तरिक परीक्षा सञ्चालन गर्ने, विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा जोड दिने, कम्प्युटर पहुँच बढाउने, छात्रवृत्ति कार्यक्रमलाई पारदर्शी बनाउने, पुस्तकालय व्यवस्थित गर्ने, र क्याम्पसको आन्तरिक स्रोत सुदृढ गर्दै यसै आर्थिक वर्षको अन्त्यसम्ममा ५० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्न सबै संग पहल गरिने लगायतका २१ बुदे भावी कार्यक्रम समेत क्याम्पस प्रमुख उप्रेतीले सभामा पेश गर्नु भयो ।
त्यस्तै सभाको बन्दसत्रमा क्याम्पसका लेखा समिति संयोजक भगवानीप्रसाद लुइटेलले क्याम्पसको अघिल्लो सभाको निर्णय कार्यान्वनको अवस्था ,सञ्चालक समितिको बैठकका निर्णय र कार्यान्वयनको अवस्था त्यसैगरी यस अघि लेखा समितिले दिएका सुझावहरूको कार्यान्वयनको अवस्था सहित विभिन्न सल्लाह सुझाव सहितको लेखा समितिको प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो। सभाको बन्दसत्रले प्रस्तुत भएका सबै प्रतिवेदनहरू माथि व्यापक छलफल र निर्णय गर्दै अनुमोदन समेत गरेको छ ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल, विराटनगरका प्रमुख सह–परीक्षा नियन्त्रक प्राध्यापक डा. गोविन्दप्रसाद गुरगाईंले नेपाल पब्लिक क्याम्पस संघले देशैभरिका सामुदायिक क्याम्पसहरूको भौतिक तथा आर्थिक सुदृढीकरण, शैक्षिक गुणस्तर वृद्धि र उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्नका लागि सरकार, त्रिभुवन विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग समक्ष बुलन्द ढङ्गले आवाज उठाउँदै आएको वताउनु भयो । उहाले विश्वविद्यालय तथा क्याम्पसहरूमा कार्यरत प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूको सेवा–सुविधा र सामाजिक सम्मान बढाउन नेपाल सरकारको राजपत्रित श्रेणी सरह स्तर निर्धारण गर्ने प्रक्रियालाई अगाडि बढाएको जानकारी गराउदै यसले शिक्षकहरूको सम्मान र मूल्य अझ उँचो बनाउने विश्वास ब्यक्त गर्नु भयो ।
पछिल्लो समय दीक्षान्त समारोहहरूलाई काठमाडौंमा सीमित राख्ने परिपाटीको अन्त्य गरी प्रदेश स्तरमा भव्य रूपमा आयोजना गर्ने निर्णय भएको जानकारी दिदै प्रमुख अतिथि गुरागाईले आगामी दिनमा नीतिगत स्पष्टता ल्याई समयमै दीक्षान्त समारोहहरू सम्पन्न हुने व्यवस्था मिलाउन प्रतिबद्ध रहेको वताउनु भयो।
गुरगाईंले सामुदायिक क्याम्पसको शैक्षिक विकास, भौतिक तथा आर्थिक सुदृढीकरण र विद्यार्थीलाई बजारको मागअनुसारको सीपयुक्त जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रमाणपत्र मात्र पर्याप्त नभएकाले प्रतिस्पर्धात्मक बजारमा टिक्न प्रयोगात्मक सीप, क्षमता र जीवनोपयोगी दक्षता आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथि नेपाल पब्लिक क्याम्पस संघ कोशी प्रदेशका अध्यक्ष एवं सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुन राज अधिकारी र दमक बहुमुखी क्याम्पसका प्रमुख यज्ञराज गिरीले सामुदायिक क्याम्पसको समग्र अवस्था र वर्तमान स्थितिका बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नुभएको थियो भने अतिथीहरु कनकाई माविका प्रधानाध्यापक कर्णबहादुर डाँगी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति मोहन थापा, सुरुंगा खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष रूपनारायण खतिवडा ‘रमेश’ , क्याम्पस सभाका ज्येष्ठ सदस्य चिरञ्जीवी उप्रेती ,सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व युक्तप्रसाद भेटुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
क्याम्पस सभाकै अवसरमा सामाजिक, शैक्षिक तथा राजनीतिक व्यक्तित्व युक्तप्रसाद भेटुवालले क्याम्पसले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले १ करोड अक्षयकोष पुर्याउने लक्ष्यले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा १ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभयो। उहाँको यो घोषणासँगै कोषमा जम्मा रकम १२ लाख हाराहारीमा पुगेको छ ।
विभिन्न शैक्षिक एवं सामाजिक व्यक्तित्व, चन्दादाता , सल्लाहकारहरू , शैक्षिक संस्था, राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधिहरु , क्याम्पससभा सदस्यहरुको सहभागिता रहेको सभामा उपस्थित सबैलाई स्वागत क्याम्पस सञ्चालक समितिका सदस्य विष्णुप्रसाद बिमलीले गर्नु भएको थियोे भने सञ्चालन सहायक क्याम्पस प्रमुख शेरबहादुर बानियाँले गर्नुभएको थियो ।



