
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका स्थित जामुनखाडी सिमासर तथा पर्यटकिय स्थलमा आन्तरिक तथा बाह्रय पर्यटकलाई आकर्षित गर्नका लागि कोशी प्रदेशकै पहिलो सुविधाका रुपमा सिमसारमा वल्छी बाट माछा मार्न फिसिङ कार्यक्रम सुरु गरिएको छ ।
यसअघि जंगली जनावरको दृश्यअललोकन तथा बोटिङको मज्जा लिदै आएकोमा थप पर्यटक लक्षित फिसिङ सेवाको समेत विस्तार गरेको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थानका अध्यक्ष परशुराम गिरीले बताउँनुभयो ।
पर्यटकहरुका लागि एक सय रुपैँयाको टिकट काटेपछि एउटा माछा मार्ने टागो र चारो उपलब्ध हुने र जति माछा मार्छन सो सबै खरिद गरेर समेत लैजान पाउने प्रबन्ध गरिएको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका सचिव दिपक ओलीले बताउँनुभयो । पर्यटकका लागि सामुदायिक वन क्षेत्र भित्र रहेका मध्ये एउटा पोखरीलाई छुट्टाइएको र त्यसमा माछा पालन गरिएको छ ।
यसैविच हाल उक्त पोखरीमा माछा पालन गरिएको छ, भने बोटिङ समेत गर्ने प्रबन्ध रहेको छ ।
सामुदायिक वनभित्र संकटमा रहेका जंगली जनावरहरु चितुवा, मृग, अंजिगर, भालु लगायातका जनावार र गिद्ध, चिल, हुचिल, लाटकोसेरो लगायातका पंछिहरु समेत संरक्षण गरेर राखिएको छ ।
जंगली जनावार र नौका विहार पछि पनि पानीमा बल्छी खेल्ने इच्छा हुनेहरुका लागि थप आकर्षणका लागि यो सुविधा राखिएको वन समुहले जनाएको छ ।
यस प्रकारको पोखरीमा फिसिङ गर्ने सुविधा कोशी प्रदेशमै पहिलो भएको वन समुहको दावी रहेको छ । वन समुहभित्र माछा मार्ने फिसिङ सुविधा थप गरिएसगै नेपाल तथा छिमेकी मुलुक भारतबाट समेत फिसिङ गर्नका लागि पर्यटकहरु आउन थालेको वन समुहले जनाएको छ ।
विशेष कार्यक्रमका विच शनिवार जामुनखाडी सिमसारमा फिसिङ सेवाको सुरुवात गरिएको हो । जहाँ नेपाल तथा भारतका मिरिक, सिक्किम लगायातका क्षेत्रबाट पर्यटकहरु बल्छी खेल्नका लागि आएका थिए । कार्यक्रमको उदघाटन गर्नुहुदै जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारका अध्यक्ष परशुराम गिरीले सिमसारमा कुनै पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मन भुलाउन सबै प्रकारका सुविधाहरुको व्यावस्था गर्ने गरेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई २ नम्बरका अध्यक्ष प्रताव राईले फिसिङ सेवा सुरु गरेर पर्यटकको थप आकर्षणको केन्द्र बनाएको भन्दै बधाई दिनुभयो । यसैविच शनिवारै शिशिरको नेतृत्वमा रहेको मिरिकबाट आएको व्यावसायिक फिसिङ टोलीले सिमसारमा औपचारिक रुपमा फिसिङको सेवा सुरु गरेको छ । फिसिङ सेवा सुरु गरेसगै उहाँहरुले यस स्थानको सुन्दरताले फिसिङ गर्न मन पराउनेहरुका लागि थप आकर्षित गर्ने बताउँनुभयो ।
जामुनवारी सामुदायिक वन समुह तथा सिमसारमा यसैबर्षबाट योग साधना र पर्यापर्यटनका लागि संघिय सरकारबाट समेत ३ करोड रुपैँया बजेट विनियोजन भएको वन समुहका अध्यक्ष परशुराम गिरीले बताउँनभयो । औपचारिक कार्यक्रमको सञ्चालन वन समुहको सचिव दिपक ओलीले बताउँनुभयो ।



