Kanakai Online

युवा अभियन्ता दुर्गा नेम्बाङ जसले हरेक बर्ष वितरण गर्छन, खेलाडीहरुलाई खेल सामग्री


बुधवार, साउन २७, २०८३ |

कनकाई अनलाईन
झापाको शिवसतासी नगरपालिका धरमपुरका युवा अभियान्ता दुर्गा नेम्वाङले हरके बर्ष यहाँका खेलाडीहरुलाई खेल सामाग्री प्रदान गर्दै आएका छन । यस बर्ष समेत धरमपुर बजार क्षेत्रमा विशेष कार्यक्रमका विच यहाँका क्रियाशील व्यक्तित्व दुर्गा नेम्बाङले यस वर्ष पनि स्थानीय युवा खेलाडी तथा खेल समूहहरूलाई खेल सामग्री हस्तान्तरण गर्नुभएको छ ।

विगत ३ वर्षदेखि निरन्तर रूपमा खेलकुद सामग्रीहरू वितरण गर्दै आउनुभएका नेम्बाङले मंगलबार धरमपुर चोकमा एक छोटो औपचारिक गरी फुटबल र भलिबल लगायतका सामग्री प्रदान गर्नुभएको हो ।

नेम्वाङले यस वर्ष क्लब र बिद्यालयका टिमहरुलाई १३ थान फुटबल र ३ थान भलिबल प्रदान गर्नुभएको छ । जसबाट फुलवारि एफसि, धरमपुर भलिबल टिम, चर्चावारी फुटबल एफसि, श्री लक्ष्मि नारायण मावि फुटबल टिम, श्री लक्ष्मि नारायण मावि भलिबल टिम, तिनकुने फुटबल टिम र डाडा गाउँ एफसि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

वितरण कार्यक्रममा बोल्दै दाता दुर्गा नेम्बाङले “विद्यालय स्तरमा अध्ययनरत १६ देखि २२ वर्षसम्मका युवा भाइ–बहिनीहरूमा खेलप्रति तीव्र इच्छा र उत्साह हुने भए पनि आर्थिक स्रोतको अभावले गर्दा खेलकुदका सामान खरिद गर्न गाह्रो हुने वास्तविकता सुनाउँदै आफू पनि हिजो विद्यार्थी हुँदा त्यस्तै अभाव भोगेकाले युवाहरूलाई खेलकुदमा निरन्तर लागिरहन प्रेरित गर्ने उद्देश्यले आफुले हरेक वर्ष खेलकुद सामग्रीहरू वितरण गर्दै आएको प्रस्ट पार्नुभयो। खेलकुद केवल व्यक्तिगत मनोरञ्जन मात्र नभई यो सामूहिक भावना, अनुशासन, गतिशीलता र परिश्रमको प्रतीक भएको बताउँदै सामाजिक तथा खेल बुझेका व्यक्तित्वहरूले खेलाडीहरूलाई खेल सामग्री प्रदान गरेर वा उनीहरूको खेल हेरेर जहिले पनि प्रोत्साहन गरिरहनुपर्नेमा उहाँले जोड दिनुभयो। खेलकुदमा लाग्दा युवाहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहने र यसले उनीहरूलाई समाजमा व्याप्त विकृति तथा विसंगतिहरूबाट पर राखेर एउटा स्वस्थ, सिर्जनशील र सकारात्मक समाज निर्माण गर्न ठूलो मद्दत पु¥याउने उहाँको भनाइ थियो।

यसैगरी, खेलाडीहरूलाई हार र जितलाई सहर्ष स्वीकार गर्दै हारबाट सिकेर थप मेहेनतका साथ नियमित अभ्यास गर्न आग्रह गर्दै नेम्बाङले अनुशासित ढङ्गले नियमित अभ्यास गर्दा गाउँ, टोल, वडा, पालिका र जिल्लाकै नाम उच्च राख्न सकिने बताउनुभयो। आगामी दिनहरूमा पनि खेलाडी भाइ–बहिनीहरूलाई जर्सी, नेट वा बल जस्ता खेलकुद सामग्रीको अभाव भएमा निर्धक्क भएर सम्झिन आग्रह गर्दै, आफू सधैँ खेलाडीहरूको मनोबल बढाउन र सहयोग गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफ्नो क्षेत्रबाट उत्कृष्ट र दक्ष खेलाडीहरू उत्पादन हुन् भन्ने नै आफूहरूको एक मात्र साझा स्वार्थ रहेको भन्दै यस अभियानमा सबै अग्रजहरूलाई दत्तचित्त भएर लाग्न उहाँले आह्वान गर्नुभयो।

अभियन्ता नेम्बाङले यसअघि २०८१ मा शुक्रबारे बजारमा ३७ थान फुटबल, १०० सेट फुटबल जर्सी, २ थान फुटबल पोल नेट, २ सेट गोलकिपर पञ्जा, १६ थान भलिबल, ४ थान भलिबल नेट र २ सेट ब्याडमिन्टन सेट वितरण गर्नुभएको थियो भने २०८२ मा धरमपुर चोकमा १७ थान फुटबल र ४ थान भलिबल वितरण गर्नुभएको थियो।

खेलकुद सामाग्री वितरण कार्यक्रममा स्थानीय अगुवा व्यक्तित्वहरु देउमान चेम्जोङ, नेत्र नेम्बाङ, बिराट किराती, डिकेस लिम्बु, उदय श्रेष्ठ, ज्ञानेन्द्र तिम्सिना, पदम रिमाल, यन्द्र कडेल लगायत विभिन्न खेल संघ–संस्था तथा क्लबहरूसँग आबद्ध प्रतिनिधि एवम् खेलाडीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन श्री लक्ष्मी माविका व्यवस्थापन समिति अध्यक्ष नीराज राईले गर्नुभएको थियोे ।
खेलाडीहरुसग प्राय खेल सामाग्रीहरु कम हुने र खरिदका लागि खर्च अभाव हुने हुदाँ आफुले हरेक बर्ष केही न केही सहयोग गरिरहेको र आगामी बर्ष समेत यो यात्रालाई निरन्तता दिदै जाने नेम्वाङको भनाई छ ।