
कनकाई अनलाईन
कनकाई नगरपालिका–१ दुर्गापुरमा रहेको श्री दुर्गा भगवती मन्दिर धार्मिक विकास संस्थाको २६औँ वार्षिक साधारण सभा शनिबार संस्थाको सभाहलमा सम्पन्न भएको छ ।
सभामा संस्थाको अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष सरला दाहाल पोखरेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले चालु वर्षमा सम्पन्न गरेका विभिन्न धार्मिक, सामाजिक तथा आध्यात्मिक गतिविधिबारे जानकारी गराउनुभयो। उहाँका अनुसार संस्थाले गत बर्षमा सरस्वती पूजा, महाशिवरात्रि पूजा तथा भजन–कीर्तन, होली मिलन, हनुमान जयन्ती, बुद्ध जयन्तीका अवसरमा योग तथा ध्यान शिविर, श्रीकृष्ण जन्माष्टमी पूजा, हरितालिका तीज विशेष कार्यक्रम, नवरात्र विशेष पूजा, गुरु सम्मान, देउसी–भैलो, भजन–कीर्तन प्रतियोगिता, आध्यात्मिक ज्ञान–चिन्तन तथा मनन र चित्र प्रदर्शनीलगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
अध्यक्ष पोखरेलले आगामी योजनासमेत सभामा प्रस्तुत गर्नुभयो। जसअनुसार मन्दिर परिसरको भत्किएको तथा खाली रहेको स्थानमा वाल कम्पाउन्ड निर्माण गरी माथिबाट काँडे तारको घेराबारा गर्ने, मन्दिरको गेट व्यवस्थित गर्ने, शौचालय मर्मत गर्ने, माथिल्लो तलाका अधुरा निर्माण कार्य सम्पन्न गर्ने तथा व्यवस्थापन समितिका बैठक र प्रशासनिक कामका लागि सचिवालय निर्माण गर्ने योजना अघि सारिएको छ। साथै धार्मिक, सामाजिक तथा आध्यात्मिक गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र सहभागितामूलक बनाउँदै संस्थालाई नयाँ उचाइमा पु¥याउने लक्ष्य लिइएको अध्यक्ष पोखरेलले बताउनुभयो।
त्यस्तै, संस्थाका कोषाध्यक्ष रोहितकुमार भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक अवस्थाबारे जानकारी गराउनुभयो। उहाँले रु. २२ लाख ९० हजार १६७ बराबरको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो।
तेस्तै संस्थाको मातहतमा रहेको रिद्धिसिद्धि कीर्तन मण्डलीका अध्यक्ष खगेन्द्र निरौला र कोषाध्यक्ष इन्दिरा दाहालले समेत आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अध्यक्ष सरला दाहाल पोखरेल, कोषाध्यक्ष रोहितकुमार भट्टराई तथा रिद्धिसिद्धि कीर्तन मण्डलीका अध्यक्ष खगेन्द्र निरौला र कोषाध्यक्ष इन्दिरा दाहालले प्रस्तुत गर्नुभएका प्रतिवेदनमाथि बन्द सत्रमा व्यापक छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि श्री शंकराचार्य पीठ वेद वेदाङ्ग संस्कृत पाठशाला, सिद्धेश्वरी, कामदा गौशाला साधुटारका अध्यक्ष आचार्यवर श्री लक्ष्मीप्रसाद खतिवडाले धर्मका नाममा राजनीति गर्न नहुने बताउँदै वैदिक सनातन धर्म संसारकै प्राचीन धर्म भएको उल्लेख गर्नुभयो। उहाँले कुनै पनि धर्मले काटमार तथा सामाजिक सद्भाव भड्काउने उपदेश नदिने भन्दै वर्तमान समयमा आम नागरिकमा नैतिक शिक्षाको आवश्यकता अझ बढेको बताउनुभयो।
सभामा सिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष नरेशमणी बास्कोटा, जनकल्याण समाजका अध्यक्ष गोपाल उप्रेती, प्रजापति सामुदायिक वनका अध्यक्ष मातृका प्रसाद पोखरेल तथा मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्षहरूको प्रतिनिधित्व गर्दै दुर्गाप्रसाद निरौलालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। मन्तव्यका क्रममा पूर्वअध्यक्ष निरौलाले मन्दिरको वाल घेराबारा निर्माणका लागि सबैलाई सहयोग गर्न अपिल गर्दै आफ्नो व्यक्तिगत तर्फबाट रु. ८४ हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो।
साधारण सभाको अवसरमा संस्थालाई विभिन्न समयमा सहयोग पु¥याउने जीवन गीरी, मदनलाल गुप्ता र फुलेश्वर झालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। त्यसैगरी सहयोगी तथा शुभेच्छुकहरूलाई मायाको चिनो र खादासहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा संस्थाका सल्लाहकार धनबहादुर गीरी र गोपाल उप्रेती, सहयोगी मातृका पोखरेल, रिद्धिसिद्धि कीर्तन मण्डलीका अध्यक्ष खगेन्द्र निरौला, सचिव बिनिता पोखरेल , कोषाध्यक्ष इन्दिरा दाहाल, अन्य सहयोगी हरु अन्जु भट्टराई, राधा नेपाल, कमला घिमिरे, कृष्णमाया पोखरेल, योगसमुहका किशोर नेपाल र भवानी कोइरालालगायत रहनुभएको थियो।
कार्यक्रममा उद्योग वाणिज्य संघ कोशी प्रदेशका पूर्वउपाध्यक्ष कुमारमणी पोखरेल, जनप्रतिनिधिहरू निर्मला खड्का र निर्मल आङ्थापो, संस्थाका सल्लाहकार तथा पूर्वसल्लाहकार, पूर्वअध्यक्षहरू, विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, गुरु वर्गलगायतको उपस्थिति रहेको थियो। साथै संस्थाका सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सबैलाई स्वागत संस्थाका उपाध्यक्ष कुशल न्यौपानले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव डिल्ली रिजालले गर्नुभएको थियो ।







