
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरको अस्थायी प्रहरी बिटमा थुनुवा घर उदघाटन गरिएको छ । नवनिर्मित थुनुवा घरको बुधबार एक समारोहबीच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उदघाटन गर्नुभयो । प्रहरी चौकी व्यवस्थापन तथा निर्माण समितिको आयोजना तथा संस्थाका अध्यक्ष शम्भु प्रसाद पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले प्रहरीको उपस्थितिले यस क्षेत्रमा अपराध नियन्त्रण हुनुका साथै चुरोट, खैनी र गुट्खा बिक्री वितरणमा उल्लेख्य कमी आएको बताउनुभयो। लागूपदार्थ (धुलो) को भयावह अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले अस्थायी प्रहरी बिटलाई स्थायी चौकीमा रूपान्तरण गर्न नगरपालिकाले कुनै कसर बाँकी नराख्ने र निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रहरीको सक्रियताले शान्ति सुरक्षा र अमनचयनमा सुधार आएको बताउँदै थुनुवा घर निर्माणले कनकाई नगरपालिकाको शाख बढाएकोमा सन्तोष व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले कोशी प्रदेशकै उत्कृष्ट मानिएको यस बिटमा थुनुवा घर थपिएपछि काममा थप उत्साह मिलेको बताउनुभयो। उहाँले आवश्यकता अनुसार महिला जनशक्ति थप गर्ने आश्वासन दिँदै आगामी दिनमा स्थानीय सरकार, सरोकारवाला र प्रहरीबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष शम्भु प्रसाद पोखरेलले २०७९ साउन १३ गते १ जना हवल्दारसहित ३ जना सुरक्षाकर्मीबाट सुरु भएको विटमा हाल १ जना असईसहित ५ जनाको टोली कार्यरत रहेको जानकारी दिनुभयो। सीमित बजेट र टहराबाट सुरु भएको बिटलाई हाल सुविधा सम्पन्न बनाउन सकिएको बताउँदै उहाँले जनशक्ति ७ जना पु¥याउन, विटलाई स्थायी चौकी बनाउन, वरपरको बाटो कालोपत्रे तथा ग्राभेल गर्न र पक्का घेराबारासहित ग्रिल तथा महिला–पुरुषका लागि अलग्गै शौचालय र स्नानगृह निर्माणको आवश्यकता औंल्याउनुभयो।
संघसंस्थाको तर्फबाट प्रजापति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मात्रिका पोखरेलले विगतको सहयोगलाई निरन्तरता दिँदै पर्याप्त पूर्वाधार भइसकेकाले यसलाई स्थायी चौकीको रूप दिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा ईप्रका बिर्तामोडका नायव प्रहरी उपरीक्षक सन्तोष पाठक, कनपा वडा नं. ७ का वडाध्यक्ष भिष्म भुषण सिटौला, वडा नं. ८ का वडाध्यक्ष लीला बहादुर कटुवाल, जनकल्याण समाजका अध्यक्ष गोपाल उप्रेती, वडा सदस्यहरू हरि कुमार राई, निर्मल आङ्थुप्पो, अरुणा सुब्बा, सावित्रा सार्की लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी, तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
संस्थाका सचिव स्वामी प्रसाद (राजा) लिम्बूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य निर्मल आङ्थुप्पोले राख्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष पोखरेलले थुनुवा घर निर्माणमा सहयोग पु¥याउने कनकाई नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू (वडा नं. १, ६, ७ र ८), प्रजापति सामुदायिक वन र स्थानीय दाताहरूप्रति धन्यवाद ज्ञापन गर्दै समारोह समापन गर्नुभएको थियो। वार्ड कार्यालयहरु र स्थनीय दाताहरुले भवन बनाउनका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।



