Kanakai Online

कनकाई घाटमा निर्वाचन हुदै


सोमवार, साउन ११, २०८३ |

कनकाई अनलाईन
पुर्वको पवित्र कनकाई घाटको नेतृत्व सर्वसम्मत नभएपछि निर्वाचनबाट हुने भएपछि यसको सर्वत्र आलोचना भएको छ ।
संस्थाको ११ औ साधरणसभाको नेतृत्व सर्वसम्मत नभएपछि अध्यक्ष, उपाध्यक्ष, महा सचिव, सचिव र लेखा समिति संयोजक गरी कुल ५ पदमा ११ जनाको उम्मेद्धारी परेकोले निर्वाचनमा जानुपरेको निर्वाचन समितिका संयोजक पत्रकार तीर्थराज खरेलले बताउँनुभयो ।
निर्वाचन आगामी साउन १३ गते हुदै छ ।


यसअघिनै अन्य पदहरुमा भने सर्वसम्मत भएको छ । जसमा कोषाध्यक्षमा युवराज उप्रेती र ५ जना सदस्यहरुमा मनिस रिजाल, हिरण्यकुमार राई, निर्मला राई, डिल्लीराम पाठक र मानबहादुर पौडेल सर्वसम्मत हुदा लेखा समिति सदस्यमा समेत भरतकुमार ढकाल र होमकुमारी कुमाल सर्वसम्मत हुनुभएको छ ।
यता निर्वाचनमा अध्यक्ष पदमा नवलकिशोर दत्त र डिल्लीराम मैनालीविच कडा प्रतिस्पर्धा हुने भएको छ भने उपाध्यक्षमा १ पदमा ३ जनाविच प्रतिस्पर्धा हुने भएको छ । जसमा खेमराज कार्की, भक्तिप्रसाद संग्रौला र सरोज मैनाली विच प्रतिस्पर्धा हुदा महासचिवमा नरेन्द्रप्रसाद फुयाँल र गोपाल खरेल विच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । सचिव पदमा समेत राधिका ओली र श्यामकुमार पौडेलविच प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी लेखा समिति संयोजकमा समेत डिल्लीराम पौडेल र भीष्म मैनालीविच प्रतिस्पर्धा हुने भएको छ । कुल ११३९ मतदाता रहेको यस कनकाई घाटमा निर्वाचन समितिले उम्मेद्धारलाई निर्वाचन चुनाव चिन्ह समेत प्रदान गरिसकेको छ ।
यता मान्छे मरेर जलाउने घाट जस्तो पवित्र स्थानमा समेत नेतृत्वमा जान हानथाप गरेर निर्वाचन गर्नुपरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।
कनकाई घाटमा प्रदेश सरकारको लगानीमा विद्युतीय शवदाहस्थल निर्माण गरिएपनि बिजुली महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले मिटरै निकालेर लगिदिएपछि विद्युतीय घाट अलपत्र अवस्थामा रहेको छ ।
यता समय वितेपछि केहि उम्मेद्धारहरुले निर्वाचनमा जादा सुरुङ्गाकै नाम बदनामी भएको भन्दै आफ्नो उम्मेद्धारी फिर्ता लिन निवेदन लिएर आएको भएपनि समय कटिसकेको कारण उम्मेद्धारी फिर्ताको साटो चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन संयोजक तीर्थराज खरेलले बताउँनुभयो ।
उठेका उम्मेद्धारहरुलाई यस क्षेत्रका मुख्य दलहरु एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाले समर्थन गरेको बुझिएको छ ।
दैनिक १० वटासम्म शव जलाउन ल्याइने यस पुर्वकै चर्चित र धार्मिक शवदाहस्थलको व्यावस्थान गर्न भन्दै २०६७ सालमा यहाँका समाजसेवी तथा निर्माण व्यावसायी प्रभाखर कड्रियाको नेतृत्वमा तत्कालिन समयमा कनकाई आर्यघाट र हाल कनकाई घाटको स्थापना गरिएको हो । कड्रियाले लामो समयसम्म नेतृत्व गरेर घाट समितिलाई विर्तामोडका व्यवसायी वेदप्रकाश अग्रवाल र त्यसपछि सुरुङ्गाका खेमप्रसाद मिश्रलाई अध्यक्षको नेतृत्व प्रदान गरिएपनि दुबैजनाले पूरा कार्यकाल पूरा नगरी राजीनामा दिनुभएको थियो ।

सम्बन्धित खबर