
कनकाई अनलाईन
झापाको कनकाई–३, सुरुङ्गा बजारस्थित कामक्ष भवनमा आधुनिक गेमिङ तथा मनोरञ्जन केन्द्र ’इन्फिनिटी गेमभर्स’ सञ्चालनमा आएको छ । यस क्षेत्रका ६ जना युवा उद्यमी तथा प्यारागन एकेडेमीमा शिक्षण पेसामा आबद्ध शिक्षकहरू तेजबहादुर बस्नेत, सागर नेपाल, कुशल दाहाल, जानम भण्डारी, अनुप भट्टराई र विशाल काफ्लेले संयुक्त रूपमा स्थापना गरेको यस केन्द्रको शनिबार एक विशेष कार्यक्रमका बिच उद्घाटन गरिएको हो । प्यारागन एकेडेमीका प्रधानाध्यापक दिपक भट्टराईले केन्द्रको औपचारिक उद्घाटन गर्नुभएको थियो । उक्त उद्घाटन कार्यक्रममा स्थानीय युवा, शिक्षक तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आधुनिक गेमिङ संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुरु गरिएको यस केन्द्रमा खेलप्रेमीहरूका लागि विभिन्न सुविधाहरू उपलब्ध गराइएको छ । सञ्चालक अनुप भट्टराईका अनुसार केन्द्रमा स्नूकर, पुल, क्यारम, तीरन्दाजी (आर्चरी), एक्५ गेमिङ, ख्च् (भर्चुअल रियालिटी) गेमिङ तथा विभिन्न किसिमका सिमुलेटर गेमहरूको उत्कृष्ट सुविधा रहेको छ । इन्फिनिटी गेमभर्सले आधुनिक प्रविधिको प्रयोग गर्दै युवाहरूलाई एउटै छानामुनि सुरक्षित, सभ्य र व्यवस्थित मनोरञ्जनको वातावरण उपलब्ध गराउने लक्ष्य लिएको छ । उद्घाटन भएसँगै केन्द्रले आफ्ना सेवाहरू औपचारिक रूपमा सुरु गरिसकेको सञ्चालकहरूले जानकारी दिएका छन् ।



