Kanakai Online

झापामा लागुऔषधविरुद्धको अभियान सुरु


शनिवार, असार ६, २०८३ |

कनकाई अनलाईन
हरेकदिनजसो झापामा लागुऔषधका कारोवारीहरु पक्राउ परेर विकराल अवस्थ बनेसगै यसको न्युनिकरणका लागि झापा प्रहरीले ‘लागूऔषधविरुद्ध झापा अभियान’ आजबाट सुरु भएको छ ।

लागूऔषधको समस्या जटिल बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले स्थानीय तहसँगको सहकार्यमा अभियानको सुरुवात गरेको हो । शनिवार विर्तामोडमा विशेष कार्यक्रमको आयोजना गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अभियानको शुभारम्भ गर्नुभएको हो ।

क्रमागत रुपमा लागुऔषधको मागमा कमी , आपूर्ति नियन्त्रण र क्षति न्यूनीकरण गरी तीन वटा रणनीतिसहित जिल्ला प्रहरी कार्यालयले शुरु गरेको लागूऔषधविरुद्ध झापा अभियानअन्तर्गत विभिन्न पाँच प्रकारका कार्यक्रम गरिने झापा जिल्ला प्रहरी प्रमु्ख प्रहरी उपरिक्षक बसुन्धरा खड्काले बताउँनुभयो । जसअनुसार पहिलो कार्यक्रम पोस्टरिङको रहेको छ । पोस्टरिङ क्याम्पियनअन्तर्गत पालिकाभित्रका सवै विद्यालयहरुमा टाँस्नका लागि जनप्रतिनिधिहरुलाई पोस्टर दिइने भएको छ । विद्यालयहरुमा सचेतनामूलक पोस्टर र सामाजिक सन्देश प्रवाह गरिने छ । दोस्रो कार्यक्रम टीच द टिचर्स रहेको छ । विद्यार्थीहरुलाई सचेत बनाउन शिक्षकहरु मार्फत यो अभियान लैजाने र यसका लागि झापामा १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने जनाईएको छ ।

तेस्रो कार्यक्रममा फुटबल पार्टनरसीप रहेको छ । युवा लक्षित त्यस कार्यक्रमअन्तर्गत पाँचवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता गराइने भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच मैत्रीपूर्ण खेलकुदमार्फत सामिप्यतासहितको सूचना आदान प्रदान गरिने प्रहरीको कार्यक्रम रहेको छ ।

चौथो कार्यक्रमलाई जान क्लब नाम दिइएको छ । त्यसअन्तर्गत राजनीतिक दल , सामाजिक संघसंस्था ,नागरिक समाजको सहयोग लिइने भएको छ ।७१ वटा प्रहरी इकाईमार्फत समुदाय स्तरीय क्लब गठन , सूचना आदान प्रदान र उत्कृष्ट क्लबलाई सम्मानको कार्यक्रम राखिएको झापाकी प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले झापा जिल्ला लागूऔषधको समस्या अत्याधिक रहेको बताउनुहुदै लागुऔषधका कारण देशको भविष्यनै बर्बादीको बाटोमा गइरहेको बताउ्रँनुभयो । यहि तरिकाले लागुऔषधको विकृति बढिरहने हो भने अबको ५ बर्षमा हरेक घरघरमा यो समस्या भित्रिने बताउँनुभयो । लागुऔषधमा फसेका युवा सुध्रन्छु भन्दा पनि सुधार गृहमा बस्न समेत महगो शुल्क तिर्नुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री कार्कीले न्युन आय भएका नागरिकहरुलाई राख्नका लागि कोशी प्रदेश सरकारले बजेटको समेत बिनियोजन गर्ने बताउँनुभयो ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले झापा जिल्लामा लागूपदार्थ दुव्र्यसन र कारोबार अत्याधिक मात्रामा बढ्दै गएकोले कुनै पनि अभिभावकले मेरा सन्तति लागूऔषध दुब्र्यसनमा फसेको छैन भनेर ढुक्क हुन सकिने अवस्था नरहेको बताउँनुभयो । लागुऔषधमुक्त समाज बनाउन हरेक अभिभावकहरु चनाखो हुन समेत कार्कीले आग्रह गर्नुभयो । प्रहरी प्रमुख कार्कीले लागुऔषध मुक्त समाज निर्माणका लागि नागरिक प्रहरीको साझेदारी भूमिका रहनु पर्ने बताउँनुभयो । कुनै एउटाको सहयोगबिना लागूऔषधको समस्यालाई नियन्त्रण गर्न नसकिने भएकाले प्रत्येक अभिभावकलाई आफ्ना सन्ततिको गतिविधि र साथी संगतको बिषयमा जानकारी लिन कार्कीले अनुरोध गर्नुभयो ।

झापामा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लागूऔषध दुब्र्यसन सिङ्गो समुदाय र राष्ट्रको डरलाग्दो रोग भएकोले कानुनमा कडाईले मात्रै पनि समस्याको समाधान नहुने भन्दै ब्यक्ति, परिवार, अभिभावक, समुदाय र प्रहरीको साझा प्रयासले समस्या समाधान हुने बताउँनुभयो । उक्त अवशरमा प्रहरीले विविध लागुऔषध विरुद्धका नाटक र सास्कृतिक प्रस्तुतिहरु राखिएको थियो ।