Kanakai Online

कनकाई नगरपालिकाको मोटरसाईकल चोरी गरेर ब्राउन सुगर कारोवारमा


शुक्रवार, असार ५, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको मोटरसाईकल चोरी गरेर सोही चोरीको सरकारी मोटरसाईकल प्रयोग गरेर लागुऔषधको कारोवार गरेको पाइएको छ ।
प्रहरीले सरकारी मोटरसाईकल प्रयोग गरी भारतबाट नेपालतर्फ जादै गरेको एक मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा अबैध ब्राउन सुगर बोकेर नेपाल प्रवेश गर्ने २ जनालाई पक्राउ गरको छ ।

बिहिवार राति ८ः२० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीबाट कनकाई नगरपालिकाको मे १ ब ३१८ नम्बरको मोटरसाईकल र मोटरसाईकलमा सवार कनकाई नगरपालिका ३ निवासी ३७ बर्षिय बलबहादुर सुवेदी र शिवसताक्षी नगरपालिका ९ निवासी २२ बर्षिय नगेन्द्र दर्जीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १ ग्राम १८ मिलिग्राम ब्राउन सुगर समेत बरामद गरेको थियो । टाघनडुब्बा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चोरीको मोटरसाईकल सहित ब्राउन सुगरसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकल पशु सेवा कार्यालय भद्रपुरको नाममा दर्ता रहेको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । सो मोटरसाइकल पशु सेवा कार्यालयले २०७३ सालमा कन्काई नगरपालिकालाई हस्तान्तरण गरेको थियो । कन्काई नगरपालिकाको अधिनमा रहेको सो मोटरसाइकल चोरी गरी दर्जी र सुवेदीले चलाउँदा पक्राउ परेको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताउँनुभयो । उक्त मोटरसाईकल ३ दिन अगाडिदेखि चोरी गरिएको नगरपालिकाले जनाएको छ । उक्त मोटरसाईकल कनकाई नगरपालिकाका कृषि पशु साखा प्रमुख तेजबहादु पौडेलले कुदाउदै आउनुभएको थियो । ३ दिन पहिले मोटरसाईकल चोरी भएको थियो ।