कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका २ चारपाने चोकमा एक महिलालाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दलेर अमानवीय व्यवहार गर्ने ५ जनाविरुद्ध प्रहरीले पक्राउ गरी अमानवीय व्यवहार गरेको कसूरमा मुद्धा दायर गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुमाथि भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरमा मुद्धा दायर गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रंजन अवाले जानकारी दिनुभयो । उनीहरुलाई सोमवार जिल्ला अदालतमा उपस्थित गराई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको समेत जानकारी दिनुभयो ।
पीडितहरुले इलाका प्रहरी कार्यालय बिर्तामोडमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएका थिए । अभद्र व्यवहार सम्बन्धी जाहेरी फितलो भएकाले प्रहरीले अभद्रको सट्टा अलिक गंभीर प्रकृतिको भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसूरमा मुद्धा दायर गरेको हो ।
जेठ २९ गते साँझ ६.३० बजे बिर्तामोड –२ चारपाने बस्ने २१ वर्षीया सबिना राजवंशीलाई पुरानो रिसइबीका कारण बिजुलीको पोलमा हात बाँधेर कालोमोसो दलिएको थियो । कालोमोसो दल्ने पाँचजनालाई प्रहरीले तत्काल पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा कनकाई नगरपालिका ८ बस्ने बर्ष १८ का समिर मुर्मु , सोही ठाउँ बस्ने बर्ष २० की सबिना मुर्मु, बर्ष २५ की स्वस्तिका मुर्मु , बर्ष १९ की पुजा बस्नेत र बिर्तामोड २ बस्ने ४४ वर्षीया मन्जु हस्दा रहेका छन् ।
उनीहरु सुनियोजित रुपमा सविनामााथि आक्रमण गर्न आएको खुलेको प्रहरीले जनाएको छ । सविनाको चरित्रमाथि लान्छना लगाउने शव्द लेखिएका १६ वटा पम्प्लेट बोकेर आएका उनीहरुले चारपानेको बेलडाँगी जाने बाटोमा सामूहिक रुपमा आक्रमण गरेका हुन् । सडक छेउमा रहेको बिजुलीको पोलमा हात बाँधेर उनीहरुले सविनाको पुरै अनुहार र शरीरमा कालो मोबिलको बट्टाको मोसो दलेका थिए । उक्त हर्कत देखेर स्थानीयले तत्कालै प्रहरीलाई वोलाएका थिए ।



